जनतासँग माथागढी
तानसेन । माथागढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ६८ करोड १३ लाख ५७ हजार २९३ रुपैयाँ बराबरको अनुमानित बजेट पेस गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चेले गाउँसभाको १९ औं अधिवेशनको दोस्रो बैठकमा बजेट प्रस्तुत गर्दै चालुतर्फ ४७ करोड ६३ लाख ५७ हजार रुपैयाँ र पुँजीगततर्फ २० करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् । विनियोजित बजेटले गाउँपालिकाको दिगो आर्थिक विकास र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

यसअघि गाउँसभाको १९ औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रममा मुख्य रूपमा दिगो पूर्वाधार विकास, कृषिको आधुनिकीकरण, आन्तरिक रोजगारी सिर्जना र समावेशी सुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले परम्परागत तथा निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउन जग्गाको चक्लाबन्दीमा जोड दिने विशेष नीति लिएको छ ।
कृषि क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा मौरीपालनका साथै खुर्सानी, आलु, धनियाँ, तरकारी र किवीको पकेट क्षेत्र विस्तार गरिने घोषणा अध्यक्ष चिदीले गरे । माटोको जैविक गुण संरक्षणका लागि रासायनिक मल र विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै जैविक खेती प्रवद्र्धन गर्ने कार्यक्रममा समेटिएका छन् । यसका साथै ‘एक वडा एक तरकारी नर्सरी’ र ‘एक वडा एक उत्पादन पकेट’ कार्यक्रमलाई निरन्तरता दिँदै क्षेत्र विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
उत्पादित कृषि उपजको उचित बजारीकरणका लागि सहकारी र समूहहरूको समन्वयमा शीतभण्डार (कोल्ड स्टोर) र कृषि बजार सञ्चालनको प्रक्रिया अघि बढाइने योजना पालिकाको छ । यस्तै, दूध र मासुमा आत्मनिर्भर बन्न भैंसी प्रवद्र्धन र कृत्रिम गर्भाधानमार्फत नश्ल सुधार कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने गाउँपालिकाले जनाएको छ ।
भौतिक पूर्वाधार विकासलाई समृद्धिको मुख्य आधार मान्दै गाउँपालिकाले निर्माणाधीन प्रशासकीय भवनको बाँकी कार्य शीघ्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न प्लास्टिक पोखरी र स्यालो ट्युबवेल निर्माणका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै व्यावसायिक कृषि क्षेत्रमा कृषि सडक र विद्युतीकरण जस्ता पूर्वाधार पु¥याउने प्रतिबद्धता नीति तथा कार्यक्रममा गरिएको छ । युवा जनशक्तिको वैदेशिक पलायन रोक्न र आन्तरिक रोजगारी प्रवद्र्धन गर्न श्रम बजारको माग अनुरूप सीप विकास र एडभान्स तालिमहरू सञ्चालन गरिने पालिकाको योजना छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप र अनुभव पहिचान गरी उनीहरूलाई उद्यमशीलतासँग जोड्न ‘वैदेशिक रोजगार सम्बन्धी पाश्वचित्र’ (प्रोफाइल) तयार गर्ने नवीन नीति अघि सारिएको छ ।

स्थानीय मजदुरहरूको सामाजिक सुरक्षाका लागि ‘मजदुर दुर्घटना बिमा कार्यक्रम’ लाई निरन्तरता दिने, स्थानीय स्तरमा दुनाटपरी उत्पादन गर्ने उद्यमीलाई प्रोत्साहन गरी प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहन गर्ने नयाँ नीति गाउँपालिकाले ल्याएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले स्पष्ट पारे । समावेशी सुशासनमार्फत गुणस्तरीय सेवा र सामाजिक न्याय सुनिश्चित गर्नु पालिकाको प्रमुख लक्ष्य रहेको बताउँदै उनले नागरिकलाई छिटो र प्रभावकारी सेवा प्रवाह गर्न कर्मचारीहरूमा ’गुड सर्भिस कल्चर’ (कुशल सेवा संस्कृति) को विकास गरिने जानकारी दिए।
सूचना अधिकारी नित्यानन्द खनालका अनुसार स्वास्थ्य क्षेत्रतर्फ विपन्न नागरिकको स्वास्थ्य बिमा र ‘उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम’ मार्फत गर्भवती महिलालाई पोषण सहायता वितरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ । शिक्षाको गुणस्तर सुधारका लागि कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान, भर्चुअल शिक्षण र स्थानीय उत्पादनमा आधारित दिवा खाजालाई प्रोत्साहन गरिने नीति लिइएको खनालले बताए।






