जनतासँग माथागढी
तानसेन। परम्परागत हलो र जुवाको ठाउँमा आधुनिक हाते ट्याक्टर र थ्रेसर चल्न थालेका छन् । गाउँका गोठहरू सुधारिएका छन् भने पशुपालन र खेतीपाती केवल जीविकोपार्जनको माध्यम मात्र नभएर व्यावसायिक आम्दानीको बलियो स्रोत बन्दै गएको छ । यो दृश्य पाल्पाको माथागढी गाउँपालिकाको हो, जहाँ कृषि र पशुपालन क्षेत्रमा सुरु भएका नवीन प्रयासहरूले यतिबेला स्थानीय किसानको जीवनस्तरमा उत्साहजनक परिवर्तन ल्याउने अपेक्षा गाउँपालिकाको छ ।
माथागढी गाउँपालिकाले परम्परागत खेती प्रणालीलाई सुधार्दै कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न उदाहरणीय कार्यक्रमहरू सञ्चालनमा ल्याएपछि यहाँका गाउँबस्तीहरू आर्थिक रूपमा जुर्मुराउन थालेका हुन् । उत्पादनमा वृद्धि गर्ने, कृषि लागत न्यूनीकरण गर्ने र किसानको आयस्तर बढाउने उद्देश्यले गाउँपालिकाले चालेका कदमहरू अहिले स्थानीय स्तरमा निकै प्रभावकारी बन्दै गएका छन् । विशेषगरी वास्तविक किसान पहिचान गर्न र अनुदानको दुरुपयोग रोक्न गाउँपालिकाले सुरु गरेको ‘उत्पादनका आधारमा अनुदान’ दिने कार्यक्रमले कृषकहरूमा नयाँ ऊर्जा थपेको छ ।

दूध, माछा, मासु, मह, तरकारी र कृषिजन्य वस्तुमा किसानले जति धेरै उत्पादन गर्छन्, त्यति नै अनुदान रकम सिधै आफ्नै बैंक खातामा पुग्ने व्यवस्था मिलाइएको छ, जसले गर्दा बिचौलिया प्रथाको अन्त्य र वास्तविक श्रमको कदर हुन थालेको छ । कृषि र पशुपालनलाई सिधै उत्पादन र नागरिकको स्वरोजगारसँग जोडेर पालिकालाई समृद्ध बनाउने अभियानमा लागेको गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले बताए ।
किसानको उत्पादन लागत घटाउन र वास्तविक कृषकलाई मात्र फाइदा पुगोस् भनेर उत्पादनका आधारमा सिधै खातामा अनुदान दिने नीति लिइएको उनले बताए। यस्तै कृषिमा श्रम अभाव र बढ्दो लागतलाई कम गर्न हाते ट्याक्टर, थ्रेसर, चाप कटर जस्ता आधुनिक कृषियन्त्र र औजारहरू अनुदानमा उपलब्ध गराउँदै यान्त्रीकरणलाई प्राथमिकता दिइएको र रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक एवं सुरक्षित उत्पादनतर्फ जोड दिइएको उनले उल्लेख गरे ।
भूगोल र माटो सुहाउँदो पकेट क्षेत्र विस्तार र पशुपालनका माध्यमबाट गाउँमै रोजगारी सिर्जना गर्न पालिका सफल भएको गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले बताइन् । खुर्सानी र धनियाँ पकेट कार्यक्रममार्फत किसानहरू समूहगत रूपमा व्यावसायिक खेतीतर्फ आकर्षित भएका र यसले बजार व्यवस्थापनमा ठूलो सहजता ल्याएको उनको भनाइ छ । पशुपालनतर्फ पालिकाले ‘एक वडा एक पशुपन्छी फर्म विस्तार कार्यक्रम’ अघि बढाएको जानकारी दिँदै उनले यस कार्यक्रमले स्थानीय स्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै व्यावसायिक पशुपालनको बलियो वातावरण निर्माण गरेको बताइन् ।
पछिल्ला वर्षहरूमा गाउँपालिकामा कृषि उत्पादनको मिश्रित अवस्था देखिएको तथ्याङ्क छ । कृषि शाखाका अनुसार धान, मकै, तरकारी तथा नगदेबालीको उत्पादनमा उल्लेखनीय वृद्धि भए तापनि दलहन, तेलहन र मसला बालीको उत्पादनमा भने केही ह्रास आएको छ । यही चुनौतीलाई चिर्न र उत्पादन घट्दो क्रममा रहेका बालीको पुनरुत्थान गर्न पालिकाले विशेष रणनीति बनाएर काम गरिरहेको जनाएको छ ।
उत्पादन बढाउनुका साथै नागरिकको स्वास्थ्य र कृषि उपजको गुणस्तरलाई पनि उत्तिकै ध्यान दिइएको छ । पहाडी भूगोल सुहाउँदो र पछिल्लो समय हराउँदै गएको अदुवा तथा बेसार जस्ता मसला बाली विस्तारका लागि किसानलाई बीउ, तालिम र प्राविधिक सहयोग गाउँपालिकाले उपलब्ध गराइँदै आएको छ ।
कृषिसंगै पशु स्वास्थ्यलाई मध्यनजर गर्दै प्राविधिक टोली गाउँ–गाउँमै पठाएर डोर टू डोर बाँझोपन निवारण कार्यक्रम, भैँसी सुधार र मासु पसल सुधार कार्यक्रम चलाइएको छ । यसले पशु स्वास्थ्यको रक्षा गर्दै उपभोक्तामाझ गुणस्तरीय र स्वच्छ खाद्यप्रतिको विश्वास बढाएको गाउँपालिकाले जनाएको छ ।
सुरक्षित तथा गुणस्तरीय कृषि उत्पादनका लागि किसानलाई जैविक विषादी निर्माण र प्राङ्गारिक मल प्रयोगबारे तालिम प्रदान गर्दै रासायनिक विषादी न्यूनीकरण कार्यक्रमलाई पालिकाले तीव्र बनाएको छ ।
आधुनिक औजारको प्रयोगले किसानको समय बचत भएको छ भने कृषि प्रणालीमा आएको आधुनिकीकरणले माथागढीका नागरिकको जीवनशैली र आर्थिक अवस्थामा समेत सकारात्मक परिवर्तन देखिन थालेको स्थानीय कृषकहरूको अनुभव छ । व्यावसायिक सोच, प्रविधिको सही उपयोग र स्थानीय सरकारको दरिलो साथले गर्दा माथागढी यतिबेला आत्मनिर्भर कृषिको एउटा सफल नमुना बन्ने दिशामा अघि बढिरहेको छ ।






