पाल्पाका ४४ मध्ये २३ बर्थिङ सेन्टर बन्द गर्न सिफारिस

तानसेन। पाल्पामा सञ्चालित आधा भन्दा बढी प्रसूति गृह बन्द गर्ने प्रस्ताव गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले गरेको एक अनुसन्धानपछि प्रभावकारिता कमजोर रहेका २३ वटा सुरक्षित प्रसूति सेवा केन्द्र कटौतीका लागि सिफारिस गरेको हो ।

दश स्थानीय तह रहेको पाल्पामा संचालित ४४ वटा प्रसूति सेवासहितका स्वास्थ्य संस्था संचालनमा छन् । बर्थिङ सेन्टरहरूको प्राथमिकीकरणबाट प्राप्त नतिजा अनुसार जिल्लामा हाल संचालनमा रहेका मध्ये २१ वटा मात्रै कायम राख्न सिफारिस गरेको हो ।

प्रतिवेदन अनुसार पाल्पाका २० वटा बर्थिङ सेन्टरमा वार्षिक ५ जना भन्दा कम महिलाले प्रसूति सेवा लिने गरेका छन् । त्यसैगरी वार्षिक ५ देखि १० जना प्रसूति गराउने सेन्टरको संख्या १० र १० देखि १५ जना प्रसूति गराउने सेन्टरको संख्या ९ रहेको छ भने वार्षिक १५ भन्दा बढी महिलालाई सेवा दिने प्रसूति गृह केवल ५ वटा मात्रै रहेका स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मानबहादुर वलीले बताए।

वर्षभरिमा १२ जना पनि सुत्केरी नगराउने केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको व्यावहारिक ज्ञान र प्रसूति गराउने प्रत्यक्ष सीप क्रमशः घट्दै जाने जोखिम रहेको बताइएको छ । गत वर्ष जिल्लाका ४४ वटै प्रसूति केन्द्रबाट वर्षभरिमा जम्मा ३२१ जनाले मात्र प्रसूति सेवा लिएको तथ्यांक छ । खर्चका हिसाबले एक जना आमालाई सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन राज्यको साढे दुई लाख रुपैयाँभन्दा बढी रकम खर्च भइरहेको तथ्यांक अधिकृत वलीको भनाइ छ ।

एउटा प्रसूति केन्द्र सञ्चालनका लागि कम्तीमा ३ जना नर्सिङ कर्मचारी अनिवार्य हुन्छन् । अहिलेको अवस्थामा पाल्पाका ४४ वटै प्रसूति केन्द्रका कर्मचारीको तलब–भत्तामा मात्रै वार्षिक ६ करोड ६७ लाख १२ हजार रुपैयाँ र यसबाहेक औजार, उपकरण, औषधि, तालिम, रिफ्रेसर तालिम र एम्बुलेन्सलगायतमा थप खर्च भैरहेको निर्देशनालयले जनाएको छ ।

बर्थिङ सेन्टरको संख्या घटाएर २१ मा सीमित गर्दा पनि पाल्पाका सर्वसाधारण नागरिकलाई सेवा लिनबाट वञ्चित हुनु नपर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले बताए। बर्थिङ सेन्टर कटौतीबाट बचत हुने ठूलो आर्थिक स्रोत र जनशक्तिलाई बाँकी रहेका २१ वटा रणनीतिक बर्थिङ सेन्टरहरूमा स्थानान्तरण गर्न सकिने बताइएको छ ।

उता जिल्लास्थित स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले भने भौगोगिक अवस्था नबुझी सेन्टर घटाउनु उचित नहुने दावी गरेका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको