तानसेन। नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी डाइर्भसनको काम अघि बढेको बताएका छन् । उनले अदालतबाट मुद्दा मामिला र विवाद टुंगिएको बताउँदै चालु आर्थिक वर्षमा सिचाइँको महत्वपूर्ण आयोजनाका रुपमा काम अघि बढ्ने बताए। आइतबार नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अर्थमन्त्री पौडेलले अब इआइए र डिपिआर निर्माणका काम सकेर स्रोत सुनिश्चित गरेसंगै निर्माणको काम अघि बढ्ने बताए ।
सिंचाइँका लागि महत्वपूर्ण स्रोत कालीगण्डकी भएका कारण यो आयोजना अघि बढाइएको उनले दावी गरे । उनले अहिलेको सरकार कुनै हालतमा नढल्ने बताए।
उनले भने-, “अस्थिरताको खोजी गर्नेहरु टिक्दैनन्, प्रतिगामी तत्वहरु आफै किनारा लागेको जान्छन् । रास्वपालाई लक्षित गरी उनले भने, मध्ये वर्षामा खहरेहरु उर्लिने भन्दै राजनीतिमा पनि त्यस्तो देखिने बताए। प्रतिगामी तत्वहरुमा राजनीतिक एजेन्डा नभएको भन्दै विरोधमा रमाएर, उद्देश्यविहिन ढंगले हिड्नेहरुको कुनै भविश्य छैन्।”
“खहरेको कुनै भविष्य छैन्, वर्षा सकिएपछि खोलामा कमिला हिंड्छ । यो सरकार नै स्थिर सरकार हो । यो समिकरण नै स्थिर समिकरण हो ।” यो समिकरण सहमति अनुसार नै ८४ सम्म जान्छ।” उनले भने ।
कालीगण्डकी करिडोर पूर्ण रुपमा सम्पन्न गर्ने, रानीमहललाई सुरक्षित र थप आकर्षक बनाउनुपर्ने, सिद्धार्थ राजमार्गको बुटवल पोखरा दुई घण्टाभित्र पुग्ने गरी स्तरोन्नति गर्ने जस्ता कार्य सरकारको प्राथमिकतामा रहेको अर्थमन्त्री पौडेलले बताए ।



