कक्षा ११ काे भर्ना साउन मसान्तसम्म लिन परीक्षा बोर्डको निर्देशन

काठमाडाैं।राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तसम्म कक्षा ११ मा विद्यार्थी भर्ना हुने व्यवस्था मिलाउन विद्यालय तथा शिक्षणसंस्थाहरुलाई निर्देशन दिएको छ ।

बोर्डले बुधबार सूचना जार्दै  छोटो समय मात्र म्याद राखेर भर्ना आव्ह्रान गर्दा दुर्गम क्षेत्रका विद्यार्थी आवेदन दिने अवसरबाट वञ्चित हुने जनाएको छ ।

बोर्डले स्थानीय तहरुलाई कक्षा ११ को भर्नामा समन्वय र सहजीकरण गरी कक्षा सञ्चालनलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरेको छ ।

‘दुर्गमका विद्यार्थी भर्ना आवेदन दिने अवसरबाट वञ्चित भएको भनी बोर्डमा प्राप्त गुनासाहरुका सम्बन्धमा बोर्डको ध्यानार्कषण भएको छ,’ सूचनामा भनिएको छ, ‘एसईईको नतिजा सार्वजनिक भएको न्यूनतम १५ दिनसम्म आवेदन दिन सक्ने गरी भर्ना कार्यक्रम तय गरी साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउनु हुन सूचित गरिन्छ ।’

साउन ११ गते एसईईको नतिजा सार्वजनिक गरिएको थियो ।

कतिपय विद्यालय र शिक्षणसंस्थाले प्रि–रजिस्ट्रेसनको नाममा विद्यार्थी भर्ना गरिसकेका छन् भने कतिपयले आवेदन दिने म्याद सकिएको भन्दै प्रवेश परीक्षा सञ्चालन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer