
पाल्पा । पाल्पाका पाँच वटा स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । स्थानीय स्तरमै सरकारले स्वरोजगारको कार्यक्रम सुरु गरेपछि स्थानीय युवा तथा एकल महिलाहरू खुसी भएका छन् ।
तानसेन नगरपालिकामा रोजगार पाउँ भनी १ हजार ३ सय ७० जनाले निवेदन दिएका थिए । जसमध्ये १ सय ८५ जनालाई भौतिक पूर्वाधार निर्माण गर्ने गरी आइतबारदेखि रोजगार कार्यक्रम सुरु गरेको तानसेन नगरप्रमूख अशोककुमार शाहीले बताए ।
१४ वटा वडाबाट तत्कालका लागि अपाङ्ग, एकल महिला र विदेशबाट फर्किएका युवा गरी १ सय ८५ जनालाई एक महिना सम्मका लागी रोजगार दिएको रोजगार संयोजक कलश न्यौपानेले बताए ।
विदेशमा बसेर फर्किएका युवा र घरमै बेरोजगार भई बसेका महिलाहरूले एक महिनाको रोजगार पाएपछि खुसी भएका छन ।
घरमा बेरोजगार भएर बस्नु पर्दा दुःख लागेकामा नगर सरकार मार्फत रोजगार पाएउदा खुसी लागेको तानसेन–१२, बौघागुम्हाकी एकल महिला मानकुमारी रानाले बताइन । एक महिना मात्र नभएर सरकारले आफू जस्ता एकल महिलाहरुका लागि बाह्रै महिना रोजगारी दिएमा घर खर्च चलाउन सहज हुने उनले बताईन ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले विदेशमा लामो समय बसेर फर्किएका युवालाई समेत उत्साहित बनाएको छ । पाल्पामा बगनासकाली गाउँपालिकालेसमेत प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ७२ जनालाई रोजगार दिएको छ ।
यस्तै रम्भा गाउँपालिकाले ३० जना महिला तथा विदेशबाट फर्किएका युवालाई केन्द्रित गरी रोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ । रिब्दीकोट गाउँपालिकाले १ सय जना र रामपुर नगरपालिकाले नगरभित्रका ७० जना युवालाई रोजगार दिएको छ ।
रामपुर नगरपालिकाले प्रधानमन्त्री कोषमार्फत २५ लाख रकम प्राप्त गरेको रामपुर नगरका प्रमूख रमणबहादुर थापाले बताए । प्रारम्भिक चरणमा नगरपालिकाभित्रका ४, ५, ६ र ७ वडाका युवालाई रोजगार दिइएको छ ।