– गंगा भट्टराई पाल्पा ।

प्यारी थियोे त्यो बचपन जहाँ म बाबाले किनिदिएको सेतो कलरको फ्रक लगाउदै अनि उहाहरुको हात समाउदै मन्दिर जान्थे आज त्यही परि ठूलि भइ कसैको पत्नी त कसैको आमा, तर म फेरि त्यस्तै सेतो कपडा लगाएर त्यो मन्दिर छेउ जान सक्दिन, किनकि म एक बिधुवा हु जसले सेतो वस्त्रलाइ आफ्नो सन्सार बनाएर अङाल्नु पर्छ ।

पहिले सबै भन्दा प्यारो लाग्ने त्यो सेतो कपडा जसलाइ म हरेक उत्सवमा खुसी हुँदै लगाउने गर्दथे, तर आज ती वस्त्रहरुमा म केही नभएको केही हराएको र केही गुमाएको महसुस गर्छु ।

मेरो हरेक रातमा मेरो आँसु सोसिरहेको त्यो वस्त्र मलाइ एकदम भिन्न लाग्छ, मलाइ गिज्याइरहेको त्यो वस्त्र हेरेर खिन्न लाग्छ तर हरेक जिवनका पाइलामा नमेटिने छाप बनाइदिएका छ्न यिनले अनि भुल्न सक्दिन यी शब्दहरु आखीर म त बिधुवा हु जसले सेतो वस्त्रलाइ आफ्नो सन्सार बनाएर अङगाल्नु पर्छ ।

कसैको चाडवाड पर्दा म आफ्नो कोठा भित्र चुकुल लगाएर अनि टोलाएर बसिरहेको हुन्छु सोच्दै हुन्छु त्यो दिन जब मेरो सिन्दुर पुछिएको थियो अनि पछाडि बाट कसैले भनेका थिए आजबाट यो पनि अशुभ भै भनेर ।

दराजको भित्र पट्टि राखिएको एउटा सानो थैलो जसलाइ हेरेर म दिनरात रुने गर्छु उनको सम्झनामा पागल जस्तै हुने गर्छु, मेरो स्वर्गीय पतिले दिएको अन्तिम सम्झना बाकी थियो । एउटा रातो झिलीमिलि कपडा जसले हरेक साझ मलाइ भनिरहेका हुन्छन । कतै टाढा लगेर फ्याकिदे अब त्यो वस्त्रमा तेरो कुनै अधिकार छैन भनेर किनकी तँ त एउटि बिधुवा होस जसले सेतो वस्त्रलाइ आफ्नो सन्सार बनाएर अङाल्नु पर्छ ।

अति लक्षिन अनि शुभ भनेर शुभदिन हेरेर भित्र्याइएको म आज ती अशुभ भन्नेहरुलाइ सोध्न मन लाग्छ बिहे अघिको सेतो वस्त्र अनि बिहे पछिको सेतो वस्त्रमा किन फरक हुन्छ भनेर, अनि त्यो भिन्नताको कुराले कति मन रुन्छ भनेर।

एउटा चाड जहाँ सबै नारीहरु भेला भएर रातो अनि रङ्गिन वस्त्र लगाएर आफ्ना दुख अनि खुसी साटासाट गर्छ्न, त्यो रमाइलोमा आफ्नी आमालाइ नदेखेपछी आफ्नो वेगमा घर आएर विभिन्न प्रस्न गर्ने त्यो छोरिलाइ म कसरी भनौ म त्यो भिडमा जान सक्दिन भनेर, किनकी म बिधुवा हु जसले सेतो वस्त्रलाइ आफ्नो सन्सार बनाएर अङाल्नु पर्छ ।

एउटा रङ्गिन जिवनबाट रङ्हिन सन्सारमा धकेलिएको म, कसरी सम्झाउन सक्छु त्यो छोरिलाइ जसले हरेक समय यो सेतो वस्त्रको वारेमा प्रस्न गर्छिन ।

र सायद उनी पनि एकदिन यहि अवस्थाबाट गुजृनु पर्छ भनेर, जहाँ उनले आफ्ना हरेक इच्छालाइ दागबत्ती दिनु पर्छ भनेर,
कहिलेकाही झुक्किएर मलाइ बेरिरहेको सेतो वस्त्रमा रङ्ग सिदा मनमनै मलाइ औधी खुसी लागेर आउँछ तर फेरि त्यो सत्यता भुल्न सक्दिन ।

आफ्नो त्यो आधा साचो कल्पनामा झुल्न सक्दिन, त्यो रङ्ग हटाउन आफुले सक्ने प्रयत्न गर्छु टाढा हुन चाहान्छु ती रङ्गहरुबाट जसले अहिले मलाइ बेरङ्ग बनाइदिएका छन, अनि हरेक सपनाबाट ब्युझिदा नभुल्ने एउटा शब्द छ आखिर म त एक बिधुवा हु जसले सेतो वस्त्रलाइ आफ्नो सन्सार बनाएर अङाल्नु पर्छ र कुनै रङ्गहरु बाट बचाउन त्यस्लाइ सम्हाल्नु पर्छ ।।

तपाईको प्रतिक्रिया