काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको “स्वर्णिम बजेट” ले पर्यटन तथा आतिथ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै होटल व्यवसायी महासंघ नेपालले सकारात्मक प्रतिक्रिया जनाएको छ।
महासंघले बजेटमार्फत पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन, लगानी विस्तार तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि समावेश गरिएका कार्यक्रमहरूले होटल तथा पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपिएको जनाएको छ।
महासंघका अध्यक्ष टी. आर. भण्डारी (शंकर) सँग गरिएको हाम्रो संवादमा उनले पर्यटन तथा आतिथ्य क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नु सकारात्मक र दूरदर्शी निर्णय भएको बताए।
महासंघले बजेटले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै सरकारप्रति आभार तथा कृतज्ञता प्रकट गरेको छ। साथै, आगामी दिनमा यस्ता नीतिगत तथा व्यवहारिक सहयोगले नेपालको पर्यटन उद्योगलाई अझ सुदृढ बनाउँदै नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।



