असोजभित्र सवारी संचालन गर्ने तयारीमा सिद्धबाबा सुरूङ मार्ग

आयोजनाकाे ६८ प्रतिशत काम सकियो

तानसेन। निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गमा आगामी असोजसम्म सवारीसाधन सञ्चालनको तयारी गरिएको छ। पाच वर्षमा सक्नेगरी सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्डको दोभान सिद्धबाबा क्षेत्रत्रमा निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको फिनिसिङ्गको काम सकेर सवारी आवागमन गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ ।

निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हालसम्म सुरूङ मार्गको ६८ प्रतिशत पुरा गरेको जनाएको छ। आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार सुरूङ मार्गको वित्तीय प्रगति ५८ प्रतिशत हुँदा भौतिक प्रगति ६८ प्रतिशत रहेको छ। बास्तोलाले आगामी सेप्टेम्बर महिनाभित्र सुरूङ मार्गबाटै सवारीसाधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए ।

अहिले मुख्य सुरूङ मार्गको सिभिलको काम पुरा भई विद्युतीकरण र प्रवेशद्वारको काम भइरहेको छ, विद्युत् जडान गरेपछि असोज पहिलो, दोस्रो साता भित्रै सुरूङ मार्गबाटै सवारीसाधनको आवतजावत सुरू हुने योजनाले जनाएको छ ।

साँघुरो र अप्ठ्यारो सडक भएकोले सुरूङ मार्गबाट सवारीसाधन सञ्चालन गरेपछि मात्र बाहिरी सडक स्तरोन्नति, बाइपास सुरूङ, रक सेट र स्लोप निर्माणको काम सुरू गरिने बताइएको छ । २०७८ साल फागुनमा ठेक्का सम्झौता गरिएको सुरूङ मार्ग निर्माणको काम भने २०७९ साल अन्तिमतिर मात्र सुरू भएको थियो।

२०८१ माघ ११ गते सुरूङ मार्गको ब्रेक थ्रु हुँदा ४० प्रतिशत काम सम्पन्न भएकोमा त्यसयताका १५ महिनामा थप २८ प्रतिशत काम सम्पन्न भएको हो। निर्माण कम्पनीले २०८३ चैत्र मसान्तसम्म सुरूङ मार्ग निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले सुरूङ मार्गसँगै दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने सम्झौतामा उल्लेख छ।

सुरूङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरको जोखिमयुक्त क्षेत्रमा पैदल यात्रीका लागि रक सेडभित्रको बाटो प्रयोगमा ल्याइने र बाहिरी भागबाट खानेपानीको व्यवस्थापन गरिने योजना छ। आपत्कालीन निकासका लागि १५१ मिटर, १६१ मिटर र १३० मिटर गरी तीन वटा बाइपास सुरूङ खनिएका छन्।

आयोजनाका अनुसार दुवैतर्फको रिबसहित एक हजार १२६ मिटर लम्बाइको सुरूङ मार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। यो सुरूङमार्ग बनेपछि हिमाल पहाड तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने विश्वास गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको