पाल्पा उद्योग वाणिज्य संघद्वारा ‘चलखेल’ गरेको भन्दै जिल्ला प्रशासनमा उजुरी, पुन: सूचना निकाल्न माग

तानसेन। पाल्पा उद्योग वाणिज्य संघले नर्सिङ र ल्याब कोटाका लागि प्राप्त कोटा वितरण प्रक्रियामा अपारदर्शी ढंगले एकाधिकार (सिन्डिकेट) जमाउन खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पामा उजुरी परेको छ। संघकै कार्यसमिति सदस्य विधुर घिमिरेले प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बदरको मागसहित लिखित निवेदन दर्ता गराएका हुन्।

निवेदनमा तानसेन स्कुल अफ हेल्थ साइन्सको नर्सिङ र ल्याब कोटाका लागि आर्थिक वर्ष २०८३।०८४ (नयाँ शैक्षिक सत्र) का लागि पाल्पा उद्योग वाणिज्य संघलाई प्राप्त कोटा वितरण गर्दा सर्वसाधारण र सरोकारवालालाई सूचनाबाट वञ्चित गराइएको आरोप लगाइएको छ।

नियतवश सरकारी बिदा पारेर सूचना लुकाएको आरोप लगाउँदै उनले प्रशासनमा दर्ता गरिएको पत्रमा संघको सचिवालयले सबैलाई समान रूपमा सूचना प्रवाह गर्ने मनसाय नराखी नियतवश चलखेल गरेको दाबी गरिएको छ। शुक्रबार ढिलो गरी सामाजिक सञ्जालमा सूचना सार्वजनिक गरिएको र लगत्तै शनिबार सार्वजनिक बिदा तथा आइतबार समेत सरकारी बिदा परेको समय पारेर आवेदन लुकाउन खोजिएको निवेदनमा उल्लेख छ।

”सबैलाई सूचना प्रवाह गर्ने मनसाय नराखी शुक्रबार अवेर सामाजिक सञ्जालमा राख्ने, शनिबार बिदा र आइतबार समेत सरकारी बिदा भएको अवस्थामा पाल्पा उद्योग वाणिज्य संघको सचिवालय खुल्ला राखेर निवेदन दर्ता गराउने काम भयो।” निवेदनमा भनिएको छ, यसरी आम नागरिकलाई सूचनाको हकबाट वञ्चित गराई कार्यसमितिलाई समेत जानकारी नगराई गोप्य राख्न खोजिएको छ।

विवादास्पद तरिकाले अघि बढाइएको उक्त सूचनाको कानुनी र व्यावहारिक वैधता नहुने जिकिर गर्दै कार्यसमिति सदस्य घिमिरेले उक्त प्रक्रिया तत्काल रद्द गर्न माग गरेका छन्। उनले हालको प्रक्रिया बदर गरी नयाँ पारदर्शी सूचना जारी गर्न र जीपीएको आधारमा निष्पक्ष ढंगले योग्यताक्रम अनुसार नाम निकाल्न तथा कुनै पनि प्रकारको एकाधिकार अन्त्य गर्न माग गरेका छन्।

उक्त उजुरी परेपछि प्रमुख जिल्ला अधिकारीले प्रशासन शाखालाई तोकादेश जारी गर्दै पत्रलाई गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन्। प्रजिअको तोकादेशमा भनिएको छ ।

यता पाल्पा उद्योग वाणिज्य संघका महासचिव विनायक महर्जनले भने, कलेजेले सूचना निकालेर पहिलेदेखि नै जानकारी दिएको जनाउँदै संघले सूचना नराखे पनि हुनेमा सामाजिक सञ्जालमा पनि राखिएको बताए । उनले निपक्ष रुपमा आएका निवेदनहरुबाट नियमसंगत रुपले अघि बढ्ने बताए । संघका सबै सदस्य एकै भएको बताउँदै उनले भने, हामीले विगतको अभ्यास अनुसार छलफल गरेर कसैलाई काखा र कसैलाई पाखा नलगाई सिफारिस गरिने बताए ।

सूचनाको हकका विषयमा आएको कुराका विषयमा नवजनचेता पत्रिकामै सूचना आएको बताउँदै सामाजिक संजालमा पोस्ट गरेर कुनै फरक नपर्ने उनले बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको