कुसुमखोला वडा कार्यालय उद्घाटन

तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर-५, कुसुमखोलाको नवनिर्मित वडा कार्यालय भवनको सोमबार एक भव्य कार्यक्रमका बिच उद्घाटन गरिएको छ। रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले एक विशेष समारोहका बिच नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै अध्यक्ष कार्कीले नयाँ र सुविधायुक्त संरचनाबाट नागरिकले अझै छिटो, छरितो र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे । अध्यक्ष कार्कीले नयाँ बनेको वडा कार्यालयको प्रशासनिक भवनबाट सेवाग्राहीहरूलाई सहज रूपमा सेवा प्रवाह गर्नका कर्मचारी र उक्त वडाका कर्मचारीलाई आग्रह गरे ।

उत्साहजनक रूपमा सम्पन्न भएको उक्त उद्घाटन समारोहमा रिब्दीकोट गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारी, पूर्व जिल्ला विकास समिति पाल्पाका सभापति डुल बहादुर कुवँर, निवर्तमान गाउँपालिका अध्यक्ष नारायण बहादुर जि.सि. र निवर्तमान गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालको उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा नं.५ का जनप्रतिनिधिहरू र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपिस्थती रहेको थियो ।

रिब्दीकोट गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ मा ५० लाख तथा आर्थिक वर्ष ०८२।८३ मा एक करोड गरी कुल एक करोड ५० लाखमा ठेक्का सम्झौता गरी बहुवर्षीय स्वीकृत आयोजना अन्तर्गतको नयाँ वडा कार्यालय भवनको निर्माण सम्पन्न भएको हो। भवन निर्माणका केटिएस विल्डर्स बुटवलले ठेक्का सम्झौता गरेर कामको थालनी गरेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले सञ्चालन गरेको उद्घाटन समारोह वडा नं.५ का वडा अध्यक्ष मन बहादुर अस्लामीको स्वागत मन्तव्यसँगै नवनिर्मित वडा भवनमै सम्पन्न भएको थियो ।

उद्घाटन कार्यक्रममा कार्यालयका कर्मचारी, प्राविधिक, सञ्चारकर्मी, निर्माण व्यवसायीका साथै वडा नं. ५ का स्थानीय बासिन्दा तथा संघ–संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सो बखत विभिन्न वक्ताहरुले नयाँ भवनबाट सहज र सरल तरिकाले सेवा प्रवाह हुने अपेक्षा व्यक्त गरेका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको