तानसेन। पाल्पामा जंगली च्याउ सेवन गरेपछि बिरामी भएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–८, कोकलका ८ वर्षीय बालक रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । च्याउ खाएपछि बिरामी भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा गएराति मृत्यु भएको हो।
गत जेठ ३ गते च्याउ खाएर बिरामी भएका उनी समान्य उपचारपछि घर लगिएकोमा पुनः स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेजमा उपचारर थिए ।
तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झवीन्द्र न्यौपानेका अनुसार अहिले पनि नगर भित्रका ११ जना च्याउ खाएर बिरामी छन् । जसमध्ये एक जना गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको छ।
उता माथागढीको कसेनीका ४ जना, निस्दीका २ जना पनि बिरामी रहेका छन् । यस्तै रम्भा गाउँपािलकाका तीन जना च्याउ सेवन गरी बिरामी परेकोमा दुई जनाको गत मंलरबार र बुधबार मृत्यु भएको र एक जना उपचाररत रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । बिरामीमध्ये केही उपचारपछि घर फर्किएका छन् भने केहीको युनाटेड मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार जारी रहेको छ ।
प्रि मनसुनको समयमा उम्रिएका च्याउहरू विषालु हुने हुँदा यस्ता च्याउको सेवनबाट बिरामी र मृत्यु हुने दर बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा विषालु च्याउ सेवन गर्ने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य कार्यालय र स्थानीयहहरुले सचेतनाका कार्यक्रम गर्दै आएका छन् ।
स्वास्थ्यकर्मीसंगै जनप्रतिनिधि, कर्मचारीले विभिन्न तरिका तथा सामाजिक सञ्जालमार्फत पनि सचेतनाका कार्यहरु गर्दै आएको जनाएका छन् ।



