पाल्पा । व्यवसायिक लिची खेतीतर्फ किसानहरु आकर्षित बनेका छन् । लिची खेतीबाट राम्रो आम्दानी गर्न सफल बनेपछि पाल्पा रम्भा गाउँपालिका १ हुँगीका किसानहरु अहिले लिची खेतीप्रति थप आकर्षित बन्दै गएका हुन । स्थानीय स्तरबाट प्रतिकिलो लिचीलाई ६० रुपैयाँमा खरिदबिक्री हुँदै आएको छ ।
रम्भा गाउँपालिका १ हुँगीबाट मात्र यस आवमा २६ लाख रुपैयाँको लिची गाउँबाट बाहिर निकासी भएको छ । गाउँमा उत्पादित लिची पाल्पाका स्थानीय बजार देखि पोखरा, बुटबल क्षेत्रमा बढी खपत हुने व्यवसायी दिनेश अर्यालले बताए । गाउँमा उत्पादित लिची ५० हजार देखि चार लाखसम्म आम्दानी हुन्छ ।
स्थानीयबासिन्दा अर्जुन देव पन्त, गंगा पछाई लगायतका यूवाहरुले गाउँमा लिची खेतीबाट यो वर्ष मात्र चार लाख आम्दानी हाता पार्न सफल हुनुभयो । उहाँहरु मात्र होइन, ४० देखि ५० घर परिवारले ५० हजार भन्दा बढी आम्दानी लिनुहुन्छ । यहाँका किसानका खेतबारीका कान्लामा ५० देखि ३०० सम्म लिची हुर्काएर व्यवसायिक बन्दै गएको पाइन्छ ।
पाल्पाको हुँगीको लिची नेपालकै सबैभन्दा स्वादिलो हुन्छ । लिचीभित्रका दाना साना, बोक्रा पातलो र लिचीको भाग बढी हुँदा पाल्पाको लिची राम्रो मानिएको स्थानीयबासिन्दा यम बहादुर नेपालीले बताए । लिची रोपेको दुई वर्षमा उत्पादन दिने गर्छ । मल, पानी राम्रोसँग व्यवस्थापन हुन सकेको अवस्थामा पाँच बर्षको अवधिमा एउटा रुखबाट वार्षिक १० हजार आम्दानी दिने किसानको भनाई छ ।
किसानले खेतबारीका कान्लामा उत्पादित लिची चिस्यान केन्द्रको अभावमा काँचो अवस्थामा बेच्न बाध्य हुनु परेको गुनासा छन् । चिस्यान केन्द्र स्थापना गर्न सकेको अवस्था लिची टिपेर भण्डार गर्न सकिन्छ । भण्डार गरेका चिदी आवश्यक अनुसार बजारमा पठाउन सकेको अवस्थामा किसानलाई राम्रो आम्दानी हुने देखिन्छ ।
रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीका अनुसार लिची खेतीलाई थप प्रोत्साहन गर्न गाउँपालिकाले नीति नै बनाउन लागेको छ । भण्डारीले भने, “व्यवसायिक किसानलाई ८० प्रतिशत गाउँपालिनको अनुदान र २० प्रतिशत किसानको सहयोगमा २० हजार विरुवा वितरण गर्ने तयारीमा रहेका छौं, ।”
जसले फलफुल खेती नै गरेको छैन, तीनीहरुका लागि निःशुल्क लिची, कागती, सुन्तला वितरण गरी व्यवसायिक फलफुल खेती गरी आम्दानी लिन सक्ने छन् । गाँउापािलकाले आगामी आवमा लिची पकेट क्षेत्र घोषणा गर्ने तयारीमा रहेको छ । लिची पकेट क्षेत्रमा एक घर एक लिची कार्यक्रम, सुन्तला उत्पादन हुने क्षेत्रमा एक घर एक सुन्तलाका विरुवा रोप्नुपर्ने नीति ल्याउने अध्यक्ष भण्डारीले बताए ।
कालीगण्डकी नदीसँग जोडिएको हुँगी पाल्पाकै सबै भन्दा गर्मी क्षेत्र हो । यस क्षेत्रमा आप, कटरलाई व्यवसायिक खेती गरी राम्रो लाभ लिन सकिने देखिए पनि त्यस व्यवसायतर्फ यूवाको आकर्षण बढेको छैन । आँप फलेर पाक्न भन्दा अघि नै झर्ने र कटरको ढुवानीमा समस्या हुँदा बजार पाउन सकेको छैन । कटर गाडीमा लैजान हुँदैन भन्ने परम्परागत मान्यतका कारण ढुवानी गर्न नमान्ने गर्छन् । जसका कारण बोटमा सडेर जाने गर्छ । कटटर बोटमा सडेर जादा ठूलो आम्दानीको स्रोत गुमेको छ ।
कृषि ज्ञान केन्द्र, पाल्पाका सूचना अधिकारी ज्ञानकुमार यादवका अनुसार पाल्पाको रामपुर नगरपालिका–१० गेझा र रम्भा गाउँपालिका–१, हुँगी क्षेत्रमा मात्र व्यवसायिक रुपमा लिची खेती गर्दै आएका छन् । पाल्पाका अधिकाँश स्थानीय तहमा पहाडी भेग बढी रहेको छ ।
लिचीका लागि गर्मी क्षेत्र आवश्यक हुनुपर्ने देखिन्छ । तानसेनको मदनपोखरा, अर्गली, हेक्लाङ्ग, पूर्वखोला, माडी लगायतका क्षेत्रमा पछिल्ला वर्ष लिची खेती गर्दै आएको यादवको भनाई छ । बाँझो खेतबारीमा लिची रोपेर राम्रो आम्दानी गर्न सकिने भएपछि पछिल्ला वर्ष मानिसहरु लिची खेतीप्रति आकर्षण बढ्दो छ ।