जनकल्याण मावि हुँगीमा मासिक दुई सय रुपैयाँमा कृषि बालीविज्ञान पढाई

पाल्पा । तपाईका बालबालिकालाई प्राविधिक धारको कृषि बाली विज्ञान पढाउने हो ? त्यो पनि मासिक दुई सय रुपैयाँमा । गाउँले परिवेश । सुन्दर वातावरण । त्यो पनि पाल्पाभित्र । सुविधासम्पन्न छात्राबाँसमा । रम्भा गाउँपालिका–१ हुँगीस्थित जनकल्याण माविमा कृषि बाली विज्ञान पढाई सुरु हुने भएको छ ।

कक्षा ९ देखि विद्यार्थीहरुले कृषि बाली विज्ञान अध्ययन गर्न पाउँछन् । मासिक दुई सय रुपैयाँमा कृषि बालीविज्ञान अध्ययन गर्न पाउने भएपछि विद्यार्थीको आकर्षण बढ्दो छ । प्राविधिक धारतर्फ कृषि बाली विज्ञान कक्षा ९ देखि सञ्चालन गर्न अनुमति प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए । विद्यालयले ४८ जना विद्यार्थीलाई पढाउन अनुमति छ । साउन पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी काम अगाडि बढेको छ ।

बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई छात्राबाँसको समेत व्यवस्था छ । विद्यालयले मासिक २ सय शुल्क लिने व्यवस्था गरेको विद्यालयका प्रअ युगराज पन्थले बताए । दलित तथा सिमान्तकृत समुदायका बालबालिकालाई गाउँपालिका छात्रवृत्तिको व्यवस्था गरी निःशुल्क पढाउने व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

कृषिबाली विज्ञानतर्फ पढाई सकेपछि रोजगार पाउने भएपछि विद्यार्थीको आकर्षण बढ्दो छ । यस क्षेत्रमा प्राविधिक धारका कक्षा सञ्चालन हुन नसक्दा विद्यार्थीहरु सदरमुकाम तानसेन र जिल्ला बाहिर धाउन बाध्य बनेका थिए । रम्भा गाउँपालिकाले कृषि बाली विज्ञान सञ्चालन गर्ने अनुमति प्रदान गरेपछि सदरमुकाम तथा जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

तपाईको प्रतिक्रिया