
पाल्पा । सरकारले ‘एक घर एक धारा’ को अवधारणा अघि सारेको २ वर्ष बित्यो । यहाँ भने १० वर्षदेखि सम्पन्न हुन नसकेका खानेपानीका योजना ६५ भन्दा बढी छन् । सरकारले पर्याप्त बजेट र आवश्यकताअनुसार कर्मचारी नपठाउँदा त्यस्ता योजना समयमै सम्पन्न हुन नसकेका हुन् ।
विगतमा प्रत्येक वर्ष करोडौंका केन्द्रीय योजना स्वीकृत भए । पछिल्लो वर्ष त्यस्ता योजनाको फाइल प्रदेशमा पुगेका छन् । केन्द्रका दर्जन बढी योजना अझै सम्पन्न हुन नसेकेर अलपत्र छन् । बाँकी सबै प्रदेशमा फाइल मात्र सरेका हुन् । कार्यालयमा पठाउने न्यून बजेटले त्यस्ता योजना समयमा पूरा हुन नसकेको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ ।
३ वर्षमा सम्पन्न गर्ने गरी त्यस्ता योजना राष्ट्रिय योजना आयोगले स्वीकृत दिने गर्थ्यो । अहिले प्रदेश सरकारमा त्यस्ता योजना पेस हुन थालेका छन् । काम सुरु भएका योजना वर्षौंसम्म पूरा नहुँदा स्थानीयले भने सास्ती खेप्नुपरेको छ । कतिपय योजनाको पाइप किनेर राखिएको छ । केहीका टंकी निर्माण भएर पाइप किन्न नसक्ने अवस्था छ ।
बजेट अभावले खानेपानीका अधिकांश योजना लथालिंग छन् । उपभोक्ताबाट सम्पन्न गरिने योजनामा लागत रकमको ५ प्रतिशत पनि हरेक वर्ष नआउने समस्या छ । ‘क्रमागत योजना भनिन्छ तर समयमा बजेट आउँदैन,’ मेहल्ढाप, काफलबुटा खानेपानी योजनाका अध्यक्ष खिमप्रसाद गौतमले भने, ‘त्यसपछि समयमा काम गर्न सकिंदैन र अलपत्र पर्ने गरेका छन् ।’ रैनादेवी छहरा गाउँपालिका, काफलबुटा र मेहल्ढापका लागि २ करोड बढीको लिफ्ट खानेपानी योजना सुरु भएको ५ वर्ष भइसक्यो । तर, अहिलेसम्म पूरा हुन सकेको छैन । हरेक वर्ष बजेटकै अभाव हुने गर्छ ।
त्यसैले पनि तोकिएको मितिमा योजना सम्पन्न हुन सकेका छैनन् । ३ सय बढी घर परिवारलाई खानेपानी व्यवस्था गर्न योजना सुरु भए पनि समयमा सकिएको छैन । योजना सम्पन्न हुन नसक्दा जनताले भने २/३ घन्टा टाढा पुगेर पिउने पानीको खोजी गर्नुपर्ने बाध्यता रहेको काफलबुटाकी उपभोक्ता सरस्वती खत्रीले बताइन् ।