बगनासकाली । गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा रचनात्मक काम गर्नका लागि सुझाव संकलन गरेको छ । उसले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर आगामी वर्ष बगनासकालीका जनतालाई सरल, सहज सेवा प्रदान गर्ने लक्ष्य लिएको हो । उसले संचारकर्मीसँग पनि अन्तरक्रिया तथा छलफल गरेको छ ।

समग्र गाउँपालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै आगामी दिनमा गर्न सकिने क्रियाकलापका विषयमा छलफल गरेको हो । यसअघि उसले चिकित्सक, यसका जानकार, अनुभवी व्यक्तिसँग यस्तो छलफल गरेको थियो ।उसले अघिल्लो वर्ष स्वास्थ्यका क्षेत्रमा भएको लगानी र यसबाट प्राप्त उपलब्धिका विषयमा जानकारी गराएको छ ।

स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीले विभिन्न सामग्री खरिद गर्नुका साथै चेतनामूलक कार्यक्रम, ल्याब सेवा, एम्बुलेन्स सेवालगायतमा काम गरेको बताए । उनले दमका बिरामीलाई नेबुलाइजर, मधुमेहका लागि स्क्रेनिङका लागि लुकोमेटर, सुत्केरी र नवजात शिशुको परीक्षणका लागि सामग्री खरिद गरेको अधिकारीले बताए । उसले सुत्केरी भएको ३ र ७ दिनमा घरमै पुगेर अवस्थाबारे जानकारी लिने गरेको छ ।

सुगर, प्रेसर, छारे रोगका लागि ४ सय जनाले सेवा पाएको उनले बताए । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले स्वास्थ्य शिक्षा, विभिन्न सामग्री, उपकरण खरिदका साथै तालिम, गोष्ठीलगायतका काम भएको बताए । उनले गाउँपालिकाले सकेसम्म जनताको स्वास्थ्यका लागि रचनात्मक कार्यक्रम चलाउने बताए ।

शून्य होम डेलिभरी गाउँपालिका घोषणा गर्ने, खोपसेवा, कुपोषण, क्षयरोगलगायतका विषयमा समेत कार्यक्रम चलाएको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीमगरले बताइन् । गाउँपालिकामा २० जना कुपोषण भएका बालबालिका भेटिएको र उनीहरूलाई त्यसबापतको सेवाका लागि मिसनसँग समन्वय गरिएको उनले बताइन् ।

सुत्केरीलाई रिफर गर्दा लाग्ने एम्बुलेन्स खर्च गाउँपालिकाले नै बेहोर्ने गरेको छ भने विपन्न नागरिकलाई १ लाख बराबरको उपचारमा सिफारिस गर्ने गरेको स्वास्थ्य शाखा सह–संयोजक थानेश्वर बस्यालले बताए ।

 

तपाईको प्रतिक्रिया