बगनासकाली गाउँपालिका वडा नम्बर १ लाई पूर्ण सरसफाई युक्त घोषणा

दयाराज न्यौपाने
पाल्पा ।  पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर १ लाई पूर्ण सरसफाई युक्त घोषणा गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पुर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डेलेले उक्त वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरेका हुन् ।सामाजिक स्रोत बिकास केन्द्र नेपाल पाल्पा र गाउँपालिकाको सहयोगमा पूर्ण सरसफाईयुक्त वडा घोषणा गरीएको हो ।

बगनासकाली १ चिर्तुङ्गधारा पूर्ण सरसफाईयुक्त घोषणा हुने गाउँपालिकाको तेस्रो वडा हो । यसअघि वडा नम्बर ३ र २ लाई पूर्ण सरसफाईयुक्त घोषणा गरि सकिएको छ । नियमित रुपमा चर्पीको प्रयोग, महत्वपूर्ण अवस्थाहरुमा साबुन पानीले हातधुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धिकरण, व्यक्तिगत सरसफाई तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरकाफोहोर मैलाको उचित व्यवस्थापन लगायतका मापदण्ड पूरा भएपछि वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको हो ।

कार्यक्रममा पाण्डेले पूर्ण सरसफाई विकासकै एउटा सूचक भएकाले सरसफाईका गतिविधिलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिदै सरकार स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउन यस्ता अभियानलाई सफल बनाउन लागि परेको बताए । पाण्डेले स्वास्थ्य र सरसफाई मानव जीवनका लागि अतिआवश्यक रहेकाले घोषणालाई व्यवहारमा उतार्नुपर्र्ने बताए ।

बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले बगानासकालीलाई पूर्ण सरसफाईयुक्त बनाउने अभियानमा यसले उर्जा थपेको बताईन । गाउं पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले अन्य अभियान जस्तै पूर्ण सरसफाईयुक्त गाउं पालिका बनाउने अभियानमा समेत सम्पुर्ण वडावासीको सहयोग आवश्यक पर्ने बताउदै २ बर्षे भित्रमा पूर्ण सरसफाईयुक्त गाउँपालिका घोषणा गर्ने प्रयास रहेको सुन्दर प्रसाद श्रेष्ठको भनाई थियो ।

वडा अध्यक्ष सोम बहादुर झेडीले सरसफाईका गतिविधि सञ्चालन गरी घोषणा गर्ने सहयोग गरेको भन्दै समाजिक स्रोत बिकास केन्द्र नेपाल पाल्पा र वडाबासीलाई बधाई र धन्यबाद ज्ञापन गरेकाथिए ।

घोषणा सभामा जिल्ला समन्वय समीतीका प्रमुख दयाराज बस्यालले, गाउँपालिका प्रवक्ता लक्ष्मी अधिकारी, वडा नं ३ का वडा अध्यक्ष टिका बहादुर थापा, मनोज आर्चाय,राजनैतिक दलका प्रतिनिधी, पत्रकार लगायत सरोकारवाल निकायको उपस्थिति रहेको थियो । घोषणालाई निरन्तरता दिनु चुनौतिको विषय भएकाले यसतर्फ सबै वडावासी सचेत हुनुपर्ने सरोकारवालालको भनाई थियो ।

सोही अवसरमा पूर्ण सरसफाईयुक्त बनाउने अभियानमा महत्वपुर्ण योगदान गरेको भन्दै बिभिन्न व्यक्ति तथा संघ संस्थालाई दोसल्ला र प्रंसशापत्रले सम्मान गरिएको थियो भने बिबिध सास्कृतीक कार्यक्रम तथा कबिता बाचन समेत बाचन गरीएको थियो ।

तपाईको प्रतिक्रिया