काठमाडौं । केही दिन यता परेको अविरल वर्षाका कारण देशभरको जनजिवन प्रभावित भएको छ । लामो समयसम्म पानी नपरेर दुखि भएका कृषकहरु यतिबेला वर्षे रोपाइमा व्यस्त हुन थालेका छन भने, देशका विभिन्न स्थानमा परेको अविरल वर्षका कारण समस्या समेत परेको छ ।
अविरल वर्षाका कारण तराईका जिल्लाहरुमा डुवानको समस्या बढेको छ भने पहाडका सडकहरुमा पहिरोको जोखिमले यात्रुहरु त्रसित भएका छन । यसैविच लगातारको वर्षाका कारण देशभर बाढी पहिरोको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।देशका विभिन्न जिल्लाका नदी खोलामा जलसतहले सतर्कता तह पार गरेको उल्लेख गर्दै होसियारी अपनाउन माहाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार भारी वर्षाका कारण प्रदेश १,२, ३ का चुरे र पहाडको क्षेत्रबाट बहने प्रायः नदीहरूमा जलसतह सतर्कता तह आसपास रहेको छ। थप वर्षा हुने देखिएको तथा बाढी पूर्वानुमान गर्ने कम्युटर मोडेलहरूले समेत जलप्रवाह उच्च हुने देखाएकाले नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार वाग्मतीको पधेरादोभान बाढी मापन केन्द्रमा जलतसतह सतर्कता तह पुगेको र बढ्दो क्रममा छ। तसर्थ रौतहहट, सर्लाही जिल्लाका तटिय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।
महाशाखाले भनेको छ– हाल कपिलवस्तु, रूपन्देही,चितवन, बारा, पर्सा, मकवानपुर, सिन्धुली, सिराहा, रौतहट र आसपास अधिकांश स्थानमा भारी वर्षा मापन भएको छ। कमला, वाग्ग्मती, यसका शाखा नदीहरू र अन्य साना नदीमा जलसतह बढ्दो छ, केहीमा खतरा तह पार हुने सम्भावना भएकाले सतर्क रहन भनेको छ।
यसैगरी बाढी पूर्वानुमान महाशाखाले हाल तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तर पार गरेकाले तिनाउको तल्लो तटिय क्षेत्रमा पनि शुक्रबार बिहानसम्म सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।
यसका साथै वर्षा निरन्तर हुदाँ पहिरोको समेत जोखिम बढ्ने भएकोले प्रहरीसंग सुचना लिएरमात्र यात्रा गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ ।