
परम्परागत अन्नबाली उत्पादनमा प्रतिफल भन्दा श्रम खर्चिनुपर्ने बाध्यता रहेको व्यावसायिक माछापालनमा किसान आकर्षित हुन थालेका छन् । कम लगानी र मुनाफा बढी हुने भएपछि तिनाउ गाउँपालिकाको दोभानस्थित झ्यालका युवा अन्नबाली उत्पादन हुने खेतबारी पोखरी निर्माण गरी माछापालन व्यस्त देखिएका छन् ।
तिनाउ गाउँपालिका दोभानको झ्यालामा व्यावसायिक माछापालन गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन आएको छ । दश घरपरिवारले एक बिघा जमीनमा व्यावसायिक माछापालन गरी वार्षिक चार लाख आम्दानी गर्न सफल हुने भनाइ छ ।
नेकपा माओवादीबाट स्थानीय निर्वाचनमा तिनाउ गाउँपालिकाका उम्मेदवार तथा नेकपाका प्रदेश सदस्य चक्रव्यूह थापालगायतका युवा मिलेर माछापालन व्यवसाय शुरु गरेका हुन् । माछापालनबाट आर्थिक लाभसँगै स्थानीयस्तरमा स्वरोजगारका कार्यक्रम सिर्जना गर्न सहयोग पुगेको हो । थापाले पाँच रोपनी जमीनमा आठ वटा पोखरी निर्माण गरी माछापालन व्यवसाय थालनी गरेको बताए ।
राजनीतिसँगै उनले माछापालन व्यवसायलाई अगाडि लैजाने सोच राखेका छन् । राजनीति गर्न जतिबेला तानसेन बस्दा पनि घरमा आएका बेला हरेक वर्ष माछापालनका लागि एक/एकवटा पोखरी खने । एउटा पोखरी स्थानीय सरकारको माछापालन पकेट क्षेत्रअन्तर्गतको अनुदानमा खनिएको हो । आठ वटा पोखरीमा पालेका माछाबाट वार्षिक रु तीन लाख आम्दानी गर्ने लक्ष्य रहेको थापाले बताए ।
“स्थानीय स्रोत र साधनको परिचालन माछापालन गर्न तोरीको पिना र भुस मोलेर दिन चलन छ । अहिले हामीले बजारको व्यवस्थापन गर्न समस्या हुन्छ, भनेर बजारको पिलेट दानाभन्दा स्थानीयस्तरमा उत्पादित दानाको प्रयोग गरिएको हो । पछि अनुदान पाएपछि हामीले माछालाई पिलेट दाना खुवाउन थालेका छौँ”, थापाले भने । बजारबाट ल्याउने दाना खुवाउँदा एक किलो खुवाउँदा डेढ किलोसम्म उत्पादन दिन विज्ञको भनाइ छ ।
यस क्षेत्रमा नैनी कमन, सिलभर, भ्याकुरलगायतका माछापालन राम्रो उत्पादन गर्न सम्भावना रहेको छ । मूलको पानीबाट पालेका माछा खाँदा स्वादिलो र मिठो हुने भन्दै घरमा नै माछा खरीद गर्दछन्, माछाका लागि बजारको समस्या नरहेको माछापालन गर्ने व्यवसायीको भनाइ छ । स्थानीयस्तरबाट प्रतिकिलो रु ३५० मा माछाको कारोवार हुँदै आएको छ । मूलको पानीमा ढिलो उत्पादन हुन्छ ।
तिनाउ गाउँपालिकाले माछापालन पकेट क्षेत्रअन्तर्गत वडा नं ३ को झ्यालामा व्यावसायिक माछापालनका लागि रु तीन लाख ७० हजार किसानलाई अनुदान प्रदान गरिएको गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष राजेश श्रेष्ठले बताए । यो वडामा पोखरी निर्माणका लागि प्रतिपोखरी रु १५ हजार अनुदान दिएको हो । अनुदानपछि माछापालनलाई व्यावसायिक बनाई आर्थिक लाभ लिन सफल हुने देखिएको छ ।