माथागढीमा पूर्ण अपाङ्गलाई घरमै परिचयपत्र

मुक्ति न्यौपाने
पाल्पा । माथागढी गाउँपालिकाले गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरि परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले घरमै पगेर २ सय ७२ जनालाई पूर्ण अपाङ्ग परिचयपत्र रातो कार्ड वितरण गरेको हो ।

माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरु हिडडुल गर्न नसक्ने भएकै कारण अरुको सहारामा जिन्दगी जीउन बाध्य रहेको बताए । उनी भन्छन्, ‘पूर्ण अशक्त व्यक्तिहरुलाई राज्यबाट प्राप्त हुने सुविधामा सहज होस् भनेर घरघरमै पुगेर रातो कार्ड प्रदान गरिएको हो ।

यसबाट स्थानीय सरकारबाट दिने सुविधाका लागि पनि सहज हुनेछ ।’ उनले घरघरमा पुगेर गाउँपालिका भित्रका सबै पूर्ण अपाङ्गता भएकाहरुलाई कार्ड प्रदान गर्ने माथागढी पहिलो गाउँपालिका भएको बताए ।

माथागढी गाउँपालिका वडा नं. ७ रहबासका चेत बहादुर विकले आफूले घरमै कार्ड पाउँदा निकै खुसी लागेको बताए । उनले आफू अशक्त भएकै कारण समाजबाट हेपिएको अनुभूति भएको बताउँदै स्थानीय सरकार घरमै आएका परिचयपत्र दिँदा खुसी लागेको बताए ।

डा. कुशल खनालले माथागढीका दुर्गम भेगमा गरिब तथा अशक्त व्यक्तिहरुको सामान्य परीक्षण गरि कार्ड वितरण गरिएको बताए ।
माथागढी गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले ८ वटा वडाहरुमा पुगेर ५१ जनालाई रातो, १ सय २७ निलो, ५१ पहेंलो र ४३ जनालाई सेतो कार्ड वितरण गरिएको बताए ।

जसमा वडा नं. १ मा ३३, २ मा २६, ३ मा ६०, ४ मा ५२, ५ मा ४१, ६ मा २४, ७ मा १३ र ८ नं. वडामा २३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई कार्ड वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया