गणित विषयमा किन कमजोर छन् पाल्पाली बालबालिका

पाल्पाःपाल्पाका बालबालिकाहरु गणित विषयको सिकाई उपलब्धि मुल्याङ्कनमा सबैभन्दा कमजोर देखिएका छन् ।

प्राथमिक विद्यालय, आधारभुत तह तथा माध्यमिक तहको शैक्षिक उपलब्धिमा समेत गणित विषयमा सबैभन्दा कमजोर रहेको देखिएको हो । जिल्लामा गणित विषयको शिक्षकको दरबन्दी प्रयाप्त नहुनु र विषयगत शिक्षकको अभावमा अध्यापन गर्दा गणित विषयमा कमजोर हुुनुपर्ने बाध्यता छ । गणित विषयमा राम्रो नतिजा ल्याउन नसक्दा प्राविधिक विषय अध्ययनबाट गर्नबाट समेत बञ्चित छन् ।

शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका शाखा अधिकृत विष्णु बेल्बासका अनुसार जिल्लामा माथिल्लो कक्षामा पठनपाठन गराउने गणित विषयको शिक्षकको अभाव रहेको छ । तल्ला कक्षामा पठनपाठन गराउने शिक्षकले नै पठाउनुपर्ने बाध्यताका कारण सिकाई उपलब्धि कमजोर रहेको अधिकृत बेल्बासेको भनाई छ ।

प्राथमिक तहमा सामाजिक, नेपाली लगायतका विषयगत शिक्षकले गणित पढाउँदै आएका छन् । सम्वन्धित विषयमा ज्ञान सिप र क्षमताको अभाव अन्य विषयका शिक्षकले पढाउनुपर्ने बाध्यता हटेको छैन ।

मानसिक रुपमा नै विद्यार्थीलाई गाह्रो विषयमा भ्रम फैलाउँदा र प्रयाप्त मात्रामा अभ्यास गर्ने र गराउने अभाव बालबालिकाहरु सानै उमेर देखि कमजोर हुने अधिकृत बेल्बासेले बताउनुभयो ।

गणित, विज्ञान र अंग्रेजी विषयको सिकाई उपलब्धि सबैभन्दा कमजोर अवस्था छ । जिल्लाको माध्यमिक तह कक्षा ९ र १० मा गणित विषयको उपलब्धि सन्तोषजनक छैन । छ ओटा विषय नेपाली, अग्रेजी, सामाजिक, विज्ञान, स्वाजवा मध्य सबैभन्दा कमजोर गणित विषयमा रहेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको २०७५ को तथ्यांक अनुसार गणितमा विद्यार्थीको सिकाइ उपलब्धि ४०.४१ रहेको छ । अंग्रेजीमा ५२.९८ प्रतिशत, नेपालीमा ५६.४३ प्रतिशत, सामाजिकमा ५२.८५ प्रतिशत, विज्ञानमा ५१.४३ प्रतिशत र स्वाजवामा ५४.२ प्रतिशत उपलब्धि देखिएको छ । मावि तहको सिकाई उपलब्धि ५२.६४ प्रतिशत रहेको छ ।

पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिका छन् । मावि तहको सिकाई उपलब्धिमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका गणित विषयमा सबैभन्दा कमजोर देखिएको हो । सिकाई प्रभावकारी हुन नसक्दा गणित विषयमा सबैभन्दा बढी कमजोर देखिएको हो ।

रैनादेवी छहरा गाउँपालिकाको सिकाई उपलब्धिमा २७ प्रतिशत मात्र अंक ल्याउन सफल बनेको हो । यो जिल्लाको सबैभन्दा कमजोर नतिजा हो । अन्य गाउँपालिकाको तुलनामा २५ प्रतिशत अंकले रैनादेवी छहरा कमजोर देखिएको हो ।

जिल्लाकै निस्दी गाउपालिकाको २९.३२ प्रतिशत, तानसेनको ३७.६ प्रतिशत, तिनाउ ३८ प्रतिशत, बगनासकाली ३८.७ प्रतिशत, पूर्वखोला ४० प्रतिशत, रम्भा ४१ प्रतिशत, रिब्दीकोट ५१.६ प्रतिशत, माथागढीको ५१.९३ प्रतिशत ल्याउन सफल छन् ।

रैनादेवी गाउँपालिका आधारभुत तहको गणित विषयमा पनि निकै कमजोर रहेको छ । आधारभूत तहको कक्षा ६ देखि ८ सम्मको सिकाई उपलब्धिमा समेत रैनादेवी ३३ प्रतिशतमा सीमित छ । गणित विषयको उपलब्धिमा उच्च अंक ल्याउनेको तुलनामा रैनादेवी छहराको झण्डै १८ प्रतिशत कमी उपलब्धि छ । आधारभूत तहको गणित विषयमा रम्भा गाउँपालिकाको ३९ प्रतिशत, रामपुरको ४९ प्रतिशत, बगनासकालीको ४७.८ प्रतिशत, माथागढीको ४५.९७ प्रतिशत, पूर्वखोलाको ४१ प्रतिशत, रिब्दीकोटमा ४३.९ प्रतिशत, निस्दीको ३७.९६ प्रतिशत, तिनाउमा ४४ प्रतिशत, तानसेनमा ५१ प्रतिशत सिकाई औषत उपलब्धि छ ।

आधारभुत तहमा नेपालीमा ५६.३० प्रतिशत, अग्रेजीमा ५५.३४ प्रतिशत, सामाजिक ५४.६६ प्रतिशत, विज्ञानमा ५३.३२ प्रतिशत र गणितमा ४३.३१ प्रतिशत सिकाई उपलब्धि हो ।

आधारभूत तह कक्षा १ देखि पाँच कक्षासम्म सिकाई औषत उपलब्धिमा गणित विषयमा कमजोर रहेको देखिएको हो । गणित विषयको सिकाई औषत उपलब्धिमा सबैभन्दा कमजोरमा तिनाउ गाउँपालिका देखिएको छ ।सबैभन्दा राम्रो उपलब्धि बगनासकाली गाउपालिकाको रहेको छ । तिनाउ गाउँपालिकाको ४५ प्रतिशत र बगनासकाली गाउँपालिका ६५.५६ प्रतिशत नजिता छ ।

गणितमा औषत सिकाई उपलब्धिको अंकमा ५४.८२ प्रतिशत ल्याउन सफल बनेको छ । नेपाली विषयमा ५९.१९ प्रतिशत, अंग्रेजी विषयमा ५८.३२ प्रतिशत,सामाजिक विषयमा ५७.७३ प्रतिशत, विज्ञानमा ५८.६३ प्रतिशत नतिजा ल्याएका छन् ।

जिल्लामा कक्षा १ देखि १० सम्म गणित विषयमा बालबालिकाहरु कमजोर रहेको हो । जिल्लाको सम्रग रुपमा हेर्दा गणित विषय, विज्ञानको सिकाई उपलब्धि नतिजा कमजोर रहेको देखिएको छ । अग्रेजी, सामाजिक र नेपालीमा सिकाई उपलब्धिमा सबैभन्दा बढी अंक ल्याउन सफल बनेको तथ्यांकले देखिएको हो ।

पाल्पामा ४४४ सामुदायिक विद्यालय र ४९ संस्थागत विद्यालय गरी ४९३ विद्यालयमा पठनपाठन हुँदै आएको छ । पाल्पामा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म ७१ हजार ८४३ जना बालबालिकाले विद्यालय शिक्षामा पहँुच छ । जिल्लाका सबैतहका विद्यालयमा दरबन्दी र राहतका गरी २ हजार ८ सय ३७ शिक्षकको दरबन्दी रहेको छ ।

सामुदायिक विद्यालय शैक्षिक सञ्जालका अध्यक्ष तथा देववाणी साँस्कृत तथा साधारण माध्यमिक विद्यालयका हेडमास्टर कृष्ण थापाका अनुसार गणित विषयमा कमजोर बालबालिकालाई अतिरिक्त कक्षा सञ्चालन गनुपर्ने बताउनुभयो । पैसामुखी अतिरिक्त कक्षा सञ्चालन होइन, सेवामुलक रुपमा रुपमा पाँच सात जनाको समुह तयार गरी कक्षा सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो ।

पहिला विद्यार्थीको ज्ञानको मापन गरी स्तरीकरण गर्दै कमजोर कमजोर विद्यार्थीलाई एउटा समुह बनाई नियमित रुपमा कक्षा सञ्चालन गर्न सकेको अवस्थामा गणित विषयको सिकाई उपलब्धी प्रभावकारी हुने थापाको दावी छ ।

तपाईको प्रतिक्रिया