
काठमान्डौं । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाएका ८७७ मध्ये ३३ जनामा समस्या देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
खोप लगाएकाहरुमा सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए।
केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ–आफ्नो नियमित काममा फर्किसकिएको बताइएको छ ।
पछिल्लो केही दिनदेखि अस्पतालमै आएर कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति उत्साहजनक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप लागाउनेमा पुरुष स्वास्थ्यकर्मीभन्दा पनि महिला स्वास्थ्यकर्मीको सङ्ख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सूर्य विष्टले बताए ।
खोप लागउनेमा महिला ५३२ तथा पुरुष ३४५ रहेको विष्टले बताए । गएको बुधबार अर्थात् यही १४ गतेदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा जिल्लाभरिबाट आउने स्वास्थ्यकर्मीलाई स्थानीय तहअनुसार पालैपालो खोप लगाउन शुरु गरिएको छ ।
डोटीमा कूल एक हजार ६२० डोज भ्याक्सिन आएको अस्पतालले जनाएको छ ।
सरकारले निर्धारण गरेको पहिलो चरणमा लगाइने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुन्लेस चालकलगायत जिल्लामा जम्मा एक हजार ५२६ जनालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।