पाल्पामा पनि बन्दको प्रभाव

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव पाल्पामा पनि परेको छ ।

बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधान बिहानैदेखि चल्न सकेका छैनन् । जिल्ला सदरमुकामबाट ग्रामीण क्षेत्र तथा छिमेकी जिल्लामा पनि कुनै सवारीसाधन जान सकेको छैन ।

सडकमा आन्दोलनकारीहरु देखिएका थिए । मुख्य तथा सहायक सडक बालबालिकाहरुले खैलमैदानका रुपमा प्रयोग गरेका थिए। पाल्पाको प्रमुख बजार क्षेत्रहरु तानसेन, रामपुर, छहरा हार्थोक लगायतका पसलहरु खुल्न सकेको थिएन । पसलहरु बन्द हुँदा बजार क्षेत्र सुनसान बनेको थियो । विहानैदेखि नेकपाका कार्यकर्ता सडकम उत्रिएपछि सवारी संचालनमा आउन नसक्दा जनजीवन प्रभावित बनेको हो ।

आम हडतालका कारण यातायातसंगै उद्योग व्यवसाय, शैक्षिक संस्था, बैंक लगायतका संस्थाहरु सबै ठप्प रहेका छन् ।
पाल्पामा बन्दकर्ताले दुध, तरकारी, एम्बुलेन्स, शवबहान, प्रेस लगायतका सवारीलाई रोकतोक गरेका छैनन्, यी बाहेक अन्य क्षेत्रका सवारी तथा कार्यालयलाई पूर्ण रुपमा बन्द गरिएको नेकपाका नेता कमल पाण्डेयले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा विधि र प्रक्रिया विपरित भएकोले आफूहरु आन्दोलित हुन बाध्य भएको नेता पाण्डेयले जानकारी दिए ।

तपाईको प्रतिक्रिया