
पाल्पा। व्यावसायिक रुपमा कालिज पारिएको पाल्पाको कालिज फर्ममा फसेको चितुवा भगाउन ५ घण्टा लागेको छ ।
तानसेन नगारपालिका वडा नं. ५ को ढुंगाखानी नजिकैको कालिज फर्ममा फसेको चितुवा भगाउन झन्डै ५ घण्टा लागेको हो ।
काफलको रुखबाट फर्ममा पसेको चितुवालाई नियन्त्रणमा लिने साधन तथा दक्ष जनशक्तिको अभावले गर्दा त्यसको उद्दार गर्न समस्या भएको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिए ।
रातको समयमा अन्जानमा फर्मभित्र फसेको चितुवालाई नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको पहलमा फर्मबाट बाहिर निकालेर पुनः जंगलमै छाडिएको छ । बिहान कालिजलाई दाना दिने क्रममा चितुवा देखेपछि स्थानयिले वन कार्यालयमा सम्पर्क गरेको थिए ।
चितुवाले फर्ममा रहेका ६३ वटा कालिज नष्ट गरेको डिभिजन वन कार्यालय पाल्पाले जनाएकाे छ ।
पाल्पामा यसअघि पनि दुम्सीलाई पारेको पासोमा अल्झिएको चितुवालाई नियन्त्रण गर्ने साधन नहुँदा पासोसंगै चितवन राष्टिय निकुञ्जमा पठाएर छाडिएको थियो ।
घाईते चितुवालाई समयमा उपचार गर्न दक्ष जनशक्ति नभएको हुँदा उक्त चितुवा केही महिनामै मरेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ।