ताप्लेजुङ र तनहूँमा आगलागी

काठमान्डौं । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ ।

मंगलबार विहान करिब १० बजेदेखि भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ ।

आगो नियन्त्रणभन्दा बाहिर गइसकेको र केही घर भत्काएर अग्निरेखा कोर्ने काम स्थानीयले गर्दै आएको कार्कीले बताए ।

 

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको स्थानीयले बताएका छन् ।

यसैगरी, तनहूँ जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।

सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया