बगनासकाली खरका छानामुक्त गाउँपालिका बन्यो

पाल्पा । बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७६।०७७ मा फुसरहित घर अभियान शीर्षकमा ३९ लाख बजेट विनियोजन ग¥यो । सोही बजेटबाट फुसरहित घरका छाना विस्थापित गरी जस्ता पाताका छानाले ११४ घर टल्किएका छन् । आर्थिक रुपमा विपन्न परिवारहरु फुसका छानाहरु हटाउन र जस्तापाताले घरका छाना टल्काउन आर्थिक रुपमा समस्या खेपेका थिए ।

विस २०७२ सालमा नेपालमा संविधान जारी भयो । सोही संविधानमा नेपालको शासन केन्द्र, प्रदेश र स्थानीय सरकारबाट हुने उल्लेछ छ । स्थानीय सरकार नागरिकको नजिकको र सहज पहुँच हुने सरकार हो । फुसरहित घर अभियान अन्तरगत गाउँपालिकाले तीन आवमा २५२ घरमा जस्तापाताले छाएपछि शुन्य खरका छानाका घर बनेका छन् । खरका छाना बस्तीबाट हटेपछि हिउँजस्तै टल्किएको छ बस्ती बस्तीहरु । यो अभियान जिल्लाकै पहिलो अभियान हो ।

वडागत रुपमा सबैभन्दा बढी यम्घामा १०४ र कम चापपानीमा फुसका घर रहेको देखिएको छ । नम्वर १ चिर्तुधारामा १४, वडा नं २, पोखराथोकमा ३७, वडा नं ३, नायरमा ५, वडा नं ४, खानीछापमा १८, वडा नं ५, दर्लममा ८, वडा नं ६, यम्घामा १०५, वडा नं ७ खानीगाउँमा ४३, वडा नं ८, बराङदीमा १९ र वडा नं ९, चापपानीमा ३ फुसरहित घर बनेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले गरीवी निवारण कार्यक्रम अन्तरगत फुसरहित घरका छाना बनाउन कार्यक्रम सम्पन्न भएकोले अब आयआर्जनतर्फ कार्यक्रम केन्द्रीत हुने बताए ।गाउँपालिकाको नीति, कार्यक्रम र बजेट गरीवी र बेरोजगारीको समस्या समधानतर्फ उन्मुख हुने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया