सारङ्गी सञ्चार प्रवाह गर्ने सिप नै सङ्कटमा

पाल्पा। लोककला संस्कृतिमा धनी रहेपनि त्यस्ता कलाकारको उचित किसिमबाट सम्मान हुन नसक्दा गन्र्धव समुदायले सारङ्गी रेटेर नागरिकलाई सचेत बनाउने परम्परागत पेसा अहिले लोप हुदैँ गएको छ ।

रेडियो र टेलिभिजन नेपालीका घरमा नहुदाँ बस्तीमा सङ्गीतको माध्यमाबाट सुचना, सन्देश र मनोरञ्चन प्रवाहका निम्ति सारङ्गी सञ्चार प्रवाह गर्ने गतिलो साधन हो । नेपालीका हात हातमा मोवाइल, घर घरमा रेडियो र टेलिभिजन लगायतका सामाजिक सञ्चालको प्रयोगका कारण सारङ्गी बजाउने परम्परातको अन्त्य हुने अवस्था देखिएको छ ।

जातीय छुवाछूत, आर्थिक, सामाजिक, साँस्कृतिक तथा धार्मिक रुपमा चर्को विभेद र गाउँवस्तीमा घुमफिर गर्नुपर्ने बाध्यताले युवा पुस्ताको आकर्षण हुन नसक्दा एउटा युगको सञ्चार प्रवाह गर्ने सिप नै सङ्कटमा पर्ने खतरा बढेको छ ।

तानसेन नगरपालिका–६ का ६८ वर्षीय रामबहादुर गन्र्धवले १० वर्षको उमेरदेखि सरङ्गी रेटेर २ छोरा १ छोरीलाई शिक्षादिक्षा र श्रीमति सहित पाँच जनाको परिवारलाई लालनपालन गर्न सक्षम हुनुभयो ।

सारङ्गी रेट्दै गीत गाउँदा तानसेनको बसर्पाक क्षेत्रमा ८÷१० घरपरिवार सारङ्गी बजाउने पेसाबाट जीवीकोपार्जन भएपनि अहिले जीवीकोपार्जनमा नै समस्या भएको र आफुलाई राज्यतहबाट सहयोग नभएको उहाँले बताउनुभयो । पाल्पाको तानसेन, भैरवस्थान, ताहँुमा गन्र्धव समुदायको बस्ती रहेपनि अहिले सारङ्गी बजाउने आफु पाल्पामा एक्लो लोकगायक भएकोमा दुखोसो पोख्नुभयो ।

तानसेनको वर्सपाक क्षेत्रमा अहिले २५ घर गन्र्धव समुदायको वस्ती रहेपनि परम्परागत सारङ्गी बजाउने क्षमता भएका दुई घर मात्र छन् । बलबहादुर गन्र्धव र रामबहादुर गन्र्धव मात्र हुन तर बलबहादुर व्यापार र समाजसेवातर्फ आकर्षित भएपनि २०४७ सालपछि यो पेशा छाडेको बलबहादुरको ६२ वर्षीय श्रीमति प्रेमकुमारी गन्र्धवले बताउनुभयो ।

प्रेमकुमारी गन्र्धवका अनुसार बुबाहरुले सारङ्गी रेट्दै गाउँ बस्तीमा घुमफिर गरी हुर्काउनुभयो । बुबाले पहिला इतिहास सम्वन्धि गीत पनि गाउने चलन रहेको र अहिले लोकगीतहरु गाउने चलनको विकास भएको उहाँले बताउनुभयो । रेडियो र टेभीको प्रत्येकको घरमा बज्न थालेपछि सारङ्गी बजाउनेहरुलाई अपमानित हुनुपर्ने बाध्यताले यो पेशा लोप हुन पुगेको उहाँको भनाई छ ।

वलबहादुरसँग विवाह भएपछि उहाँ केही समय श्रीमानका साथ सुनौली बस्नुभयो । सुनौलीमा कोठा लिई बसेका बलहादुरको दिनभर सारङ्गी बजाउँदै हिडने र पैसा पनि प्रशस्त कमाइ हुने गरेको सम्झना छ । कतै निकै सम्मान त कतै घृष्णा हुन थाल्यो, त्यो सहन नसकेपछि गाउँ फर्केर प्रेमकुमारी बाख्रा, बँगुर, अदुवा खेतीतर्फ लाग्नुभयो । श्रीमान व्यापार गर्न थालेसँगै घरमा पनि सारङ्गीको धुन सुन्न रेडियो र टेलिभिजन नै खोल्नुपर्ने स्थिति आएको उहाँको भनाई छ ।

२०६८ सालको जनगणना अनुसार ९८ पुरुष र ९५ महिला गरी तानसेनमा कुल १ सय ९३ जना र रिब्दीकोट गाउपालिकाको भैरवस्थानस्थित ११ महिला र ११ पुरुष गाउ र रम्भा गाउपालिकाको ताहुमा ८ पुरुष र १९ महिला गन्र्धव समुदायको जनसंख्या रहेको छ ।

पाल्पामा गन्र्धव समुदायको बस्ती ठुलो मात्रामा रहेपनि सारङ्गी बजाउने पुस्ताको अभाव हुन थालेको छ । गन्र्धव टोलविकास समिति तानसेनका अध्यक्ष दिनेश गन्र्धवले पहिला सामाजिक रुपमा बुबाहरु अपमानित भएको देख्दा पो पेसामा आकर्षित हुन सकिएन, अहिले पेशा अन्य जातिले खोसेकोमा दुखेसो पोख्नुभयो । सारङ्गी बजाउन नजानेको दिनेशलाई पछुतो समेत छ ।

सारङ्गी बजाउने पेशा छाडेका परिवारहरु अहिले स्वदेश तथा विदेशमा काम गर्दछन् । व्यापार, व्यवसाय खेतीपाति पशुपालन लगायतका पेशाबाट अहिले जीवीकोपार्जन गर्न आकर्षित भएका छन् । पछिल्ला वर्षमा गन्र्धव समुदायका बालबालिकाहरु शौक्षिक रुपमा अघि बढेको पाइन्छ ।

एउटा युगको सञ्चार प्रवाह गर्ने सिप र प्रविधि नै लोप हुन नदिन सारङ्गी बनाउने र बजाउने तालिमको राज्यबाट उचित व्यवस्था गर्नुपर्ने गन्र्धव समुदायको भनाई छ ।

तपाईको प्रतिक्रिया