पाल्पा । पाल्पामा स्वास्थ्य बीमाको सुविधा लिदा सास्ती खेप्दै आएका नागरिकको पिडालाई सरोकारवाला निकायले प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानकर्षण पत्र बुझाएको छ ।

बिरामीले उपचारका लागि रेफर लेटर बनाउने प्रक्रियामा सास्ती पाएको गुनासाे बढेपछि  इन्सेकको पहलमा गठन भएको जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जाल पाल्पाले ध्यानाकर्षणपत्र बुझाएको हो।

रेफर लिएर अन्य अस्पतालमा उपचार गराउनका लागि पाल्पा अस्पतालमा बिरामीको भिड बढेको र सो अस्पतालमा उपचारको वातावरण समेत नहुदा बिरामीले सास्ती खेप्दै आएका छन् ।

टाढाको बाटो भएर उपचार गराउन आउने बिरामीले रेफर लिदा नै दिन बित्ने हुँदा समयमा उपचार समेत पाउन नसकेको गुनासो गर्दै आएका छन। जिल्लाबासीबाट आएको गुनासोलाई समाधान गर्नका लागि सञ्जालले ध्यानाकर्षणपत्र बुझाइएको सञ्जालका संयोजक भगवान भण्डारीले बताए ।

सरकारले कुनै पनि नेपाली पैसा नभएकै कारण उपचारबाट बञ्चित हुनु नपरोस् भन्ने योजनाका साथ ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सहज तरिकाले सेवा पाउनुपर्ने व्यवस्था सरकारबाट हुनुपर्ने ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ । यस्तै लोक कल्याणकारी कार्य गर्ने अस्पताललाई तत्काल सुविधा दिन र बीमा ऐन, नियमावली संसोधनको समेत माग गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जिल्ला अस्पताललाई सुबिधा सम्पन्न बनाई प्रभावकारी सेवा प्रदान गर्नेमा सबैको ध्यान जानुपर्ने यो नै दीर्घकालिन निकास भएको बताए ।

उनले बीमा बोर्डबाटै सोही बमोजिम निर्णय भएकोले यसमा संघीय सरकारमार्फत व्यवस्थापन गर्न सबैले पहल गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया