तानसेन । पाल्पामा मंगलबार मात्रै थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ७८ जनाको पिसिआर परीक्षण गर्दा तानसेन नगरपालिका तथा अस्पतालका ३१ सहित थप ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बगनासकाली, माथागढी र रिब्दीकोट गाउँपालिकाका २।२ जना, रम्भा,तिनाउ,निस्दी गाउँपालिका र रामपुर नगरपालिकामा एक।एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
आज थपिएकासंगै हाल जिल्लामा एक सय ९८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
संक्रमित मध्ये १६ जनाको विभिन्न अस्पताल तथा बाकी होम आइसेलेशनमा बस्दै आएका छन् ।
हालसम्म जिल्लामा संक्रमितको संख्या २ हजार २ सय २० पुगेको छ । संक्रमितमध्ये १ हजार ९ सय ८३ जना निको भएका छन् भने ३९ जना संक्रमितको मृत्यु भएको स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।
निषेश आदेश लागू हुने सम्भावनाः
जिल्लामा सक्रिय संक्रमितको संख्या बढेसंगै निषेश आदेश लागू हुने सम्भावना बढेको छ ।
केहीदिन अघि काठमान्डौंमा बसेको सीसीएमसीको बैठकले प्रमुख जिल्ला अधिकारीले पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगेमा निषेश आदेश गर्नसक्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा जिल्लामा २०० को नजिक संक्रिय संक्रमित पुगेको हुँदा कही संक्रमित थपिएमा र सक्रिय संक्रमित निको भएर डिस्चार्ज नभएमा केही दिनभित्रै पाल्पामा निदेश आदेश लागू हुनसक्ने देखिएको छ ।