
पाल्पा। पाल्पामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोरोना संक्रमितको उपचारमा जिल्लामा अक्सिजन अभाव भइरहेको अबस्थामा पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि रकम उपलव्ध हुने भएको हो ।
अक्सिजन प्लान्ट निर्माण गर्ने जिल्ला समन्वय समिति र कोभिड १९ संकट ब्यबस्थापन समिति पाल्पाको निर्णय पाल्पा अस्पतालको माग, स्वास्थ्य मन्त्रालयको निर्णय र बजेट मागको आधारमा अर्थमन्त्रालयले तत्काल अक्सिजन प्लान्टको स्थापना गर्न १ करोड ५० लाख बजेट स्विकृत गरेको थियो ।
जिल्लाका संक्रमितको उपचारमा कमी नहुन अक्सिजन प्लान्टको निर्माणका लागि मातहत निकायको माग चासोलाई समन्वय गरि बजेट टुंगो लगेको हो ।
पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले अर्थमन्त्रालयबाट अक्सिजन प्लान्टका लागि बजेट व्यबस्थापन भएको बताए । । उनले अब भोलिदेखि काम सुरु गरिने बताए ।
अस्पतालका अनुसार भौतिक संरचना १५ दिनमा सकिने गरी काम हुनेछ । अहिले प्राप्त बजेटबाट दैनिक ५० सिलिन्डर उत्पादन क्षमताको अक्सिजन प्लान्ट तयार हुने भएपनि केहि दाताहरुसंग छलफल भैरहेकोले थप सहयोग प्राप्त भए दैनिक एक सय सिलिन्डर क्षमताको प्लान्ट राख्ने योजना भएको अध्यक्ष पाण्डेले बताए ।
कोरोना महामारीको यो समयमा संक्रमितहरु दैनिक रुपमा बढेका छन् । उनिहरु सामान्य अवस्था हुदाँ होमआइसोलेसनमा बस्दै आएका छन् । तर दोस्रो चरणमा देखिएको नयाँ भेरिएन्टको कोरोना भाइसरका बिरामीको शरिरमा अक्सिजन कमी हुनेगरेको पाईएको छ । संक्रमितलाई उपचारका लागि अस्पताल लैजाँदा अक्सिजन आबश्यक भन्दै फर्काउने गर्दा अक्सिजन अभावमा संक्रमितको मृत्यु समेत हुदै आएको छ ।