पाल्पामा बुधबार १०६ जनाले कोरोना जिते, थप ८३ मा संक्रमण

तानसेन । पाल्पामा पछिल्लो २४ घण्टामा थप १०६ जनाले कोरोना जितेका छन।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ३७ पुरुष तथा ६९ महिला गरि १०६ जना संक्रमितले कोरोना जितेका हुन् ।

निको हुनेहरुमा सबैभन्दा धेरै रैनादेवी छहरा गाउँपालिका भित्रका ४० जना रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

यस्तै तानसेनका ३७, बगनासकालीका ९,रम्भाका ८, माथागढीका ६, रिब्दीकोटका ४ तिनाउ २ तथा रामपुर र निस्दीका १।१ जनाले कोरोना जितेको सूचना अधिकारी पन्थीले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एन्टिजेन तथा पिसिआर परीक्षण गर्दा ३७ पुरुष तथा ४६ महिला गरि ८३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो पटक ४० जनाको पिसिआर तथा १८१ जनाको ऐन्टिजेन विधिबाट कोरोना परीक्षण भएको थियो ।

थपिएका संक्रमितसंगै हाल जिल्लामा कूल एक हजार ५५३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सक्रिय संक्रमित मध्य ७९ जना अस्पतालको आइसोलेशनमा उपचाररत रहेका छन भने ७३ जना स्थानीय तहका आइसोलेशन र १४७४ जना होम आइसोलेशनमा बस्दै आएकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया