तानसेन नगरपालिकाले ५० बेडकाे आइसोलेशन भवन निर्माण गर्ने

तानसेन । पाल्पाको तानसेन नगरपालिकाले कोरोना भाइरसको दोस्रो चहलले प्रभावित भएका नागरिकका लागि विषेश योजना अघि बढाउने भएको छ ।

जिल्ला सदरमुकाम समेत रहेको तानसेन नगरमा कोराना संक्रमणमा वृद्धि भएसंगै त्यसबाट प्रभावित भएका नागरिकका लागि नगरपालिकाले योजना अघि सारेको हो ।

गतवर्षदेखि नै तानसेन नगरपालिकाले कोभिडबाट प्रभावित भएका नागरिकका लागि पोष्ट कोभिड कार्यक्रम संचालन गर्दै आएको नगर प्रमुख अशोक कुमार शाहीले बताए ।

गत वर्षको बजेटमा दुई करोड १० लाख रकम विनियोजन गरेर कोरोनाबाट प्रभावित भएका नागरिकका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिदै आएको नगरप्रमुख शाहीले जानकारी दिए ।

अहिले कोरोनाको दोस्रो लहर चलेको समयमा समेत सोही बजेटबाट त्यसको रोकथाम तथा न्यूनिकरणमा विभिन्न कामहरु गर्दै आएको नगरपालिकाले जनाएको छ । नगर सरकारले अहिलेको समयमा दाेस्रो भेरिएन्टसँग जुध्दै त्यसबाट प्रभावित नगरबासीको स्वास्थ्य उपचार तथा राहतका विषयमा समेत छलफल चलेको नगरप्रमुख शाहीले बताए ।

नगर सरकारले पाल्पा तत्काल संक्रमित राख्नका लागि त्रिभुवन क्याम्पसको अयोध्याप्रसाद भवनमा अस्थायी आइसोलेशन कक्ष संचालन गरेको भएपनि आगामी दिनमा आफ्नै आइसोलेशन भवन निर्माणको तयारी समेत भएको नगरप्रमुख शाहीले बताए ।

पोष्ट कोभिड कार्यक्रमको बजेटबाट केही रकम थप गरेर अक्सिजनसहितको ५० वेडको आइसोलेशन भवन निर्माण तयारी गरिएको उनले बताए ।जसका लागि ३० लाख रुपियाँ सहयोग गर्छौँ भन्ने सहयागी दाताहरु समेत सम्पर्कमा आएको नगरप्रमुख शाहीले बताए ।

कोरोना प्रभावितका नागरिकका लागि राहत तथा अन्य सहयोगका विषयमा गत वर्षको कोभिडबाट पाठ सिकेको र अहिले वास्तविक समस्यामा परेका नागरिकलाई मात्रै राहत उपलब्ध गराउने नगरपालिकाले योजना बनाएको छ ।

यस्तै नगरपालिकाले कोभिडबाट प्रभावित युवा, महिला तथा विदेश तथा स्वदेशमा रोजगार गुमाएका नागरिकहरुका लागि पोष्ट कोभिड कार्यक्रममार्फत उद्यमी बनाउन गत वर्षबाटै सुरु भएको र यो वर्ष समेत निरन्तरता दिने योजना समेत अघि सारेकाे  जनाएकाे छ ।

यस्तै नगर सरकारले सबैभन्दा धेरै प्रभावित भएका वाल बालिका, कृषि क्षेत्र, विकास निर्माणका क्षेत्र लगायतका विषयमा समेत विभिन्न चरणमा छलफल  तथा  योजना बनाउने तयारी गरेको जनाएको छ।

तानसेन नगरपालिकाले गत वर्षदेखि अहिलेसम्म कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुई करोड दश लाखबढी रकम खर्च गरिसकेकाे जनाएकाे छ ।

तपाईको प्रतिक्रिया