शनिबार मात्रै थप ५ जना संक्रमितको मृत्यु

तानसेन । शनिबार पाल्पामा थप ५ जना संक्रमितको मृत्यु भएको छ ।

स्थास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार होम आइसोलेशनमा बसेकी एक महिलासहित ५ जना संक्रमितको मृत्यु भएको हो ।

होम आइसोलेशनमा मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं. ७ की ६० वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । उनी केही दिनअघि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आएकी थिईन् ।

यस्तै  बगनासकाली गाउँपालिका वडा नं. ६ का ५४ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजको आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै तानसेन नगरपालिका वडा नं.५ की ६१ वर्षीया महिलाको तथा तानसेन ६ का ६१ वर्षीय पुरुषको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए ।

यस्तै तानसेन नगरपालिकाले निर्माण गरेको त्रिभुवन बहुमुखी क्याम्पसको अयोध्याप्रसाद भवनको आइसोलेशनमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका ७ काजीपौवाका ६६ वर्षीय पुरुष रहेका तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिए ।

चार दिनसम्म युनाईटेड मिसन अस्पतालमा उपचारपश्चात घर फर्किएका उनलाई शुक्रबार साझ पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि नगरपालिकाको आइसोलेशनमा उपचार सुरु भएकोमा शनिबार मृत्यु भएकाे तानसेन नगरपालिकाले जनाएको छ ।

शनिबार थप ५ जना संक्रमितको मृृत्यु भएसंगै जिल्लामा हालसम्म कूल ७४ जना कोरोना संक्रमतले ज्यान गुमाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया