
तानसेन । पाल्पाका दुई स्थानीय तहले कोराना भाइरस विरुद्धको खोप खरिदका लागि माग गरेका छन् ।
रामपुर नगरपालिका र रम्भा गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग खोप खरिदका लागि अनुमति मागेका हुन् । आइतबार रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा स्वयम मन्त्रालयमा पुगेर खोप खरिदका लगि अनुमति मागेका छन् ।
नगरप्रमुख थापाले स्वास्थ्यमन्त्री हृदय त्रिपाठीलाई भेटेर खोप उपलब्ध गराउन वा खोप खरिदका लागि स्वीकृत दिन माग गरेको जानकारी दिए । उनले राखेको प्रस्ताव मन्त्रालयमा पहिलो पटक आएको हुँदा यस विषयमा छलफल पश्चात निर्णय गर्ने जवाफ मन्त्रीबाट आएको थापाले बताए ।
नगरपालिकाले हाल समुदायमा संक्रमण बढेपछि नगरबासीका खोप लगाउनका विकास निर्माणका योजनाको बजेट समेत खर्च गर्ने तयारी भएको छ ।
रामपुर नगरपालिकाले भारतका ३ वटा खोप उत्पादक कम्पनीसंग समन्वय गरेर खोप खरिदको प्रकृया समेत अघि बढाएको र सरकारले स्वीकृत दिएको खण्डमा खोप खरिद गरेर लगाउने तयारी गरेको छ ।
यस्तै रम्भा गाउँपालिकाले सोमबार खोप खरिदका लागि अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन पठाएको छ । सरकारले समयमा खोप उपलब्ध गराउन नसकेपछि आफ्नै समन्वयमा खोप खरिद गर्न अनुमति मागेको गाउँपालिका अध्यक्ष विष्णप्रसाद भण्डारीले जानकारी दिए ।
पालिका भित्रका नागरिकलाई कोरोना विरुद्धको खोप लगाउनका लागि नेपाल सरकारको मूल्य र मापदण्ड अनुसार २० हजार डोज खोप खरिद गर्न अनुमति मागेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।
खोप खरिदका लागि विपद् व्यवस्थापन कोषमा रहेको ७० लाख रुपैयाँ तथा थप बजेट चालु आर्थिक वर्षमा सम्झौता नभएका विकास निर्माणको योजनाबाट खर्च गर्ने पनि गाउँपालिकाले जनाएको छ ।