बजेटप्रति पत्रकार महासंघकाे सकारात्मक प्रतिक्रिया

काठमाडौं। नेपाल पत्रकार महासंघले आर्थिक वर्ष २०७८।०७९ सालका लागि प्रस्तुत गरेकाे बजेटमा सञ्चार क्षेत्रमा विनियोजन गरेको बजेटप्रति सकारात्मक प्रतिक्रिया दिएको छ ।

महासंघले बजेटमा सञ्चार क्षेत्रका उल्लेख भएको विषयको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ ।

महासचिव रोशन पुरीले आइतबार विज्ञप्ती जारी गर्दै बजेटमा महासंघले प्रस्ताव गरेअनुसार सञ्चार क्षेत्रका लागि समावेश भएका केही विषयहरु सराहनीय रहेको बताएका छन् ।

‘महासंघले वैशाख ७ गते मन्त्री पौडेलसँग छलफल गरेर अर्थ र सञ्चार मन्त्रालयलाई लिखित सुझाव दिएको थियो,’ विज्ञप्तीमा भनिएको छ, ‘सरकारी सुविधा र विज्ञापनमा अनलाइन सञ्चार माध्यमलाई न्यायपूर्ण पहुँच सुनिश्चित गर्न र साना लगानीका तथा स्वरोजगारमूलक मिडियालाई प्रोत्साहन गर्नेगरी सम्बोधन गर्न जरुरी छ ।’

बजेटमा उल्लेख भएका सञ्चार क्षेत्रका सबै व्यवस्थाको समयमै कार्यान्वयन गर्न थप नीतिगत व्यवस्था गर्न आवश्यक रहेको महासंघको भनाइ छ ।

बजेटमा सम्बोधन भएका विषयहरुः

  • श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमामा ५० प्रतिशत प्रिमियम सरकारले दिने ।
  • नेपाल पत्रकार महासंघका सदस्यको देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था ।
  • आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने ।
  • महासंघको निर्माणधिन भवन सम्पन्न गर्न आवश्यक रकमको विनियोजन ।
  • प्रेस संग्रहालय स्थापना गरिने ।
  • कोभिडबाट प्रभावित भइ रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चारगृहलाई पुनर्कर्जा तथा व्यवसायिक निरन्तरता कर्जा सुविधा ।
  • पत्रकार कल्याणकारी कोषको कार्यान्वयन गर्ने प्रतिवद्धता ।
  • सरकारी विज्ञापन सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई न्यायपूर्ण पहुँच सुनिश्चित गरिने ।
  • सञ्चार गृहको आर्थिक वर्ष ७८।७९ को इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था ।

तपाईको प्रतिक्रिया