अनुमति बिनाका सेनिटाइजरको बिगबिगी

औषधि पसलसंगै तरकारी र किराना पसलसम्म भ्यानबाट ल्याएर बेचिदै आएको खुलासा

पाल्पा । पाल्पा सदरमुकाम तानसेनमा अनुमति बिनाको ह्याड सेनिटाईजरको बिक्रि वितरण भएको पाईएको छ ।

निषेधाज्ञाको समयमा सदरमुकामका मेडिकल र फार्मेसीसंगै किराना र तरकारी पसलबाट बिक्रि हुँदै आएका सेनिटाईजर अनुमति बिनाका रहेको पाईएको हो ।

जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय पाल्पाले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा अधिकांश पसलबाट बिना अनुमतिका ७५ लिटर बढी ह्याड सेनिटाईजर बरामद गरिएको छ ।

अनुगमनका क्रममा औषधि व्यवस्था विभागबाट स्वीकृती नलिएको सञ्जिवनी कम्पनीको सेनिटाईजर सबैभन्दा धेरै भेटिएको हुँदा सो सामग्री जफत गरिएको स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले बताए ।

अनुमति प्राप्त सेनिटार्इजर मात्र बिक्री लागि योग्य हुने हुँदा अन्य सेनिटाईजरको विक्रि बितरणमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

औषधि, किराना, तरकारी र भाडा पसल तथा मार्टहरुमा समेत अनुमति बिनाको सेनिटाईजरको विक्रि वितरण भएको हुँदा पनि समयमा अनुगमन हुन नसकेको गुनासो नागरिकहरुले गरेका छन् ।

औषधि व्यवस्था विभागमा स्वीकृती नलिएका कम्पनीहरुले भ्यानबाट केही दिन अघिसम्म सेनिटाईजरको बिक्रि गर्दै आएका थिए । नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने यस्ता सामग्रीको खुलेआम बिक्रि हुँदा सरोकारलाले ध्यान नदिएको गुनासो स्थानीयको छ।

औषधि व्यवस्था विभागले स्वीकृत प्राप्त ६१ कम्पनीबाट उत्पादन भएका सेनिटाईजर मात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया