तानसेन। बगनासकाली गाउँपालिकाले ९ वटै वडामा खोपकेन्द्र संचालन गर्ने भएको छ ।
पालिकाले जेठ २५ र २६ गते संचालन हुने कोरोना विरुद्धको खोपका लागि सबै वडामा खोपकेन्द्र संचालन गर्ने भएको हो । यसअघि केही वडामा मात्र खोपकेन्द्र संचालन गर्ने निर्णय भएको थियो ।
निषेधाज्ञाको समयमा ज्येष्ठ नागरिकलाई खोप केन्द्रसम्म पुग्न समस्या हुने हुँदा भावनालाई आत्मसाथ गर्दै ९ वटै वडाहरुमा खोपकेन्द्र संचालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।
गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीका अनुसार स्वास्थ्य कार्यालयको व्यवस्थापनमा केही वडामा मात्र खोपकेन्द्र संचालन गर्ने भनिएकोमा गाउँपालिकाले आफ्नै व्यवस्थापनमा सबै वडाहरुमा खोपकेन्द्र संचालन गर्ने भएको हो ।
“हामीले स्वास्थ्य कार्यालयलाई भनेका छौं, नागरिकहरुलाई टाढा टाढा जान दुःख हुन्छ, स्वास्थ्यकर्मी र अन्य खर्च व्यवस्थापन हामीले गछौं, सबै वडाहरुबाटै खोपकेन्द्र संचालन गर्नुपर्छ,” उनले भने, “स्वास्थ्य कार्यालयले अनुमती दिएको छ, बगनासकालीका ९ वटै वडाहरुका स्वास्थ्यचौकीहरुमा खोपकेन्द्र चल्छ । ”
केन्द्र सरकारले व्यवस्थापन गरेको कोरोना विरुद्धको खोप यहि जेठ २५ र २६ गते ६२ देखी ६४ वर्ष उमेर समूहकालाई लगाइँदैछ ।
बगनासकाली गाउँपालिकामा ७ सय ६४ जनालाई कोरोना विरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए ।