पाल्पा । पाल्पामा कोभिड विरुद्धको दुवै मात्रा खोप लगाएका मध्ये ३ सय ४० जनामा संक्रमण पुष्टि भएको छ।

खोपको दुवै मात्रा लगाइएकाहरुमा संक्रमण देखिए पनि उनिहरुमा गम्भीर स्वास्थ्य समस्या भने नदेखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

खोप लगाइएकाहरु संक्रमित भए पनि खोप नलगाउनेको तुलनामा गम्भीर समस्या झेल्नु नपरेको हुँदा घरमै बसेर निको हुने गरेका छन् । दोस्रो लहरमा धेरै संक्रमितलाई स्वास प्रश्वासमा समस्या देखिएको भएपनि खोप लगाएकाहरु सुरक्षित रहेको पाईएको छ ।

संक्रमण भए पनि सामान्य लक्षण देखिने हुँदा कुनै संक्रमित अस्पतालमा उपचार गर्नु नपरेको पाल्पा अस्पतालका प्रमुख डां जगदीस कुवँरले बताए ।
आफू स्वयम खोप लगाए पछि संक्रमित भएको हुँदा सामान्य लक्षण मात्र देखिएको र घरमै बसेर संक्रमण जितेको उनको भनाई छ ।

खोपबाट हुने सुरक्षाको जानकारी पाएसंगै अनलाइन फर्म भरेर खोपको प्रतिक्षा गर्नेहरुको संख्या पनि अधिक देखिएको छ। यति बेला समुदायमा संक्रमण व्यापक रुपमा फैलिएपछि यसको नियन्त्रण चुनौतीपूर्ण बनिरहेको छ।

ततकाल खोप उपलब्ध हुने अवस्था नदेखिए पछि नागरिकहरूलाई संक्रमणबाट जोगाउन केही स्थानिय तहहरुले खोप खरिदका लागि सरकारको अनुमति मागिरहेका छन्।

सरकारले खोप किन्ने अनुमति नदिइए पछि समुदायमा फैलिरहेको कोरना संक्रमणबाट नागरिकहरूको जीउ ज्यान जोगाउन तत्काल खोप उपलब्ध गराइ दिन  स्थानीय तहहरुले सरकारसंग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया