
पाल्पा । अविरल बर्षासंगै बढेको डुम्रे खोलाले सिद्धार्थ राजमार्ग अन्तरगत गौडेपल नजिकैको सडक नै बगाएको छ ।
लगातारको झरीसंगै बढेको खोलाले सडकको तल्लो भागमा कटान गर्दा मुख्य सडक नै बगाएको हो ।
सोही स्थानमा माथिबाट पहिरो भर्ने क्रम समेत नरोकिएको र गएराती सडकको तल्लो भागबाट खोलाले कटान गर्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको सडक डिभिजन पाल्पका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए ।
गएरातीदेखि अवरुद्ध सडक संचालनका लागि बुटवलदेखि स्काभेटर मगाएर सडक सुचारु गर्ने तयारी भएको सूचना अधिकारी खत्रीले बताए । पानी पर्ने क्रम नरोकिएको हुँदा सडक सुचारु गर्न ५।६ घण्टा लाग्ने सडक डिभिजनले जनाएको छ ।
यस्तै सोही राजमार्गको कालीमाटी ,चर्चरे क्षेत्रमा समेत पहिरो झर्ने क्रम जारी रहेको छ ।
यस्तै तानसेन रिडी सडकखण्डको सम्मोबारीमा पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
उता आर्यभञ्याङ्ग रामपुर सडक खण्डमा पनि दर्जनबढी स्थानमा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको सडक डिभिजन पाल्पाले जनाएको छ ।