तानसेन । स्थानीय प्रशासनले निषेधाज्ञालाई केही खुकुलो गरेसंगै पाल्पामा कोरोना संक्रमण फेरि उकालो लागेको छ ।
पछिल्ला ३ दिनमा मात्रै थप २२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार बुधबार ७० बिहीबार ११५ तथा शुक्रबार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
निषेधाज्ञामा कडाइका साथै स्वास्य समवधानी अपनाउदा घटेर ४ सयमा झरेको सक्रिय संक्रमितको संख्यामा वृद्धि भएर हाल ५५४ जनामा पुगेको सूचना अधिकारी पन्थीले बताए ।
पछिल्लो समय संक्रमण मुक्त हुनेहरु समेत बढेको हुँदा सक्रिय संक्रमितको संख्यामा धेरै वृद्धि नभए पनि समुदायमा लक्षणसहितका बिरामीहरु बढेको स्वास्थय कार्यालयले जनाएको छ । अहिले पसलहरु खुलेको र मेलापालमा धेरै मानिसहरु घुलमिल हुँदा पनि संक्रमणको जोखिम बढेको विज्ञहरुले बताएका छन् । लक्षणसहितका बिरामीलाई परीक्षणको दायरा ल्याउने हो भने पुनः संक्रमण बढ्ने पनि विज्ञहरुको भनाई छ ।
पाल्पामा कोरोनाको दोस्रो लहर यता अर्थात बैशाखदेखि हालसम्म ७६ जना संक्रमितले ज्यान गुमाएको स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।