
तानसेन । पाल्पामा असारको अन्तिम सातासम्ममा ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
यसवर्ष समयमै मनसुन सक्रिय भएको हुँदा असारमै धेरै रोपाइँ सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्यालले दिएको जानकारी अनुसार असार अन्तिम साता सुरु हुदाँ ९० प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ ।
अहिले जिल्लाको माढीफाँट, रामपुर, अर्सेदी, बासँटारी, झडेवा, पश्चिमको अर्गली, सर्देवा लगायतका धेरै धान खेती खुने स्थानसंगै वर्षे पानीको भरमा खेती लगाउने टारी खेतहरुमा समेत धमाधम रोपाइँ भएको छ ।
जस्ले गर्दा गत वर्षको तुलनामा २० प्रतिशत छिटो रोपाइ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मकै पछिको मुख्य अन्नबालीको रुपमा ९ हजार ६ सय हेक्टर क्षेत्रफलमा वर्षे धानको खेती हुँदै आएको छ।
पाल्पाका किसानले पछिल्लो समय सिचाई सुविधा भएको फाँटहरुमा सावित्री, सावा मन्सुली तथा अधिकांश टारी खेतहरुमा हार्वेट जातका धान लगाउने गरेका छन् ।