पाल्पा निस्दी गाउँपालिकाका ६० वर्षीय वीरबहादुर पुलामी सहित तीन पक्राउ

पाल्पा । पाल्पामा फरार रहेका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा पाल्पा जिल्ला अदालतले दोषी ठहर गरी फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न मितिमा अदालतले फैसला गरी दोषी ठहर भएका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए।

पक्राउ पर्नेहरुमा रामपुर नगरपालिका–३, का ५० वर्षीय खगनाथ न्यौपाने छन् । उनी बैकिङ् कसुर सम्बन्धी मुद्दामा दोषी ठहर भई फरार भएका थिए । उनलाई अदालतले ७ लाख ३० हजार नगद गरिमाना तोकेको थियो ।

यस्तै बहुबिवाह मुद्दामा दोषी ठहर भई फरार भएका रम्भा गाउँपालिका–१, का ४९ वर्षका कृष्णप्रसाद पाठकलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतले १ वर्ष तीन महिना कैद सजाय तोकेको थियो ।

प्रहरीका अनुसार निस्दी गाउँपालिका–१, का ६० वर्षीय वीरबहादुर पुलामीलाई समेत पक्राउ गरिएको थियो । जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका पुलामी प्रहरीको फरार सूचिमा थिए । उनलाई पाल्पा जिल्ला अदालतले ६ वर्ष कैद सजाय फैसला गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया