
तानसेन । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुंगाले च्यापेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङजाको वालिङ नगरपालिका–११ का २३ वर्षीय आशिष खाँड रहेका छन् । जिपका सह–चालक खाँडको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिनाउ गाउँपालिका वडा नं. ३ सिद्धबाबा क्षेत्रमा सोमबार बेलुका खसेको ढुंगाले लु २ च ७३८७ नम्बरको जिप च्यापेपछि स्याङ्जाको चापाकोट नगरपालिका–५ का चालक डिलु थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
स्याङजाबाट बुटवलतर्फ गइरहेको सिंगल क्याब जिपमा अचानक ढुंगा खस्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।
पहिरोसहितको ढुंगा खसेका कारण अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड स्थानीय र प्रहरीको सहयोगमा एकतर्फी सुचारु भएको पनि प्रहरीले जनाएको छ ।