गुल्मी । गत बैशाख १ गते प्यूठान भएको जीप दुर्घटनामा परि घाइते सन्दिप परियारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते परियारको काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा उपचारको क्रममा ४ महिनापछि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।
माल्लरानी गाउँपालिका वडानम्बर–३ घर भएका २८ वर्षका सन्दिप परियार जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिता प्रतिलिपी शाखामा खरिदार पदमा कार्यरत रहेको पन्थीले बताए ।
गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना परेको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते परियार सहित ६ जनालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो ।
गम्भीर घाइते मध्ये अरु ५ जना उपचार पछि घर फर्केका छन् । दुर्घटनामा परेर जिल्ला प्रशासनका कार्यालय गुल्मीमा कार्यरत ४ जना कर्मचारी र चालक गरि ५ जनाको मृत्यु भएको थियो ।
जीपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । जीप घुम्तिमा बसलाई ओभरट्याक गर्ने क्रममा भीरबाट करिव १ सय ५० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।
घाइतेहरुले भने जीप बाटोमा पटक–पटक बिग्रेर बनाउदै गएको बताएका थिए ।