छात्राहरुको विद्यालय शिक्षाप्रति रुचि बढ्दो

पाल्पा । यहाँका दलित तथा सीमान्तकृत समुदायका छात्राहरुको नियमित रुपमा विद्यालय शिक्षाप्रति रुचि बढेको छ । तानसेन नगरपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिकामा सञ्चालित कर्मठ बालिका शैक्षिक उपलब्धि प्रर्वद्धन कार्यक्रमले विद्यालय शिक्षामा रुचि बढेको हो ।

दलित तथा सीमान्तकृत समुदायका बालिकाहरुको विद्यालय शिक्षामा पहिला नियमित उपस्थिति नहुने र कक्षा छाड्ने समस्या थियो । अहिले बालिकाहरु विद्यालय शिक्षाप्रति रुचि बढाएको र हाल अनलाईन शिक्षा, गृहकार्य लगायतका कार्यमा सक्रियता बढाएको हो । तानसेनको देववाणी तथा संस्कृत माविका प्राधनाध्यापक कृष्ण थापाले छात्राहरुको विद्यालय शिक्षाप्रति रुचि बढेको बताए । उनले विद्यार्थी अहिले नियमित रुपमा नै अनलाईन शिक्षामा सहभागी हुन थालेको बताए ।

दलित महिला संघ पाल्पाद्धारा सञ्चालित सो परियोजनाले विपन्न समु्दायका बालबालिकाहरुलाई एक दर्जन कापी, कलम, सिसाकलम, ज्यामितिबक्स प्रदान गरिएको संस्थाले जनाएको छ । जिल्लाको तानसेन नगरपालिकाको जनप्रिय मावि, लुम्विनी मावि, देववाणी मावि, तिनाउ गाउँपालिकाको आदर्श आधारभूत र रम्भा गाउँपालिकाको जनता प्राविमा अध्ययन गर्ने बालिकालाई शैक्षिक साम्रागी सहयोग गरेपछि शिक्षाप्रति रुचि बढाइएको संघकी अध्यक्ष शान्ति गहतराजले बताइन ।

आर्थिक रुपमा कमजोर समुदायका बालिकाहरु आर्थिक तथा सामाजिक कारण विद्यालयमा नियमित अध्ययनमा समस्या हुँदै आएको थियो । सो समस्या हल गर्न दलित तथा सीमान्तकृत समुदायका बालिकाहरुका अभिभावकलाई आयआर्जन कार्यक्रममा सहभागी बनाउने, छात्राहरुको शिक्षामा आमाको भूमिका प्रभावकारी बनाउन खोजिएको हो । त्यसको लागि संघले चार विद्यालयमा अध्ययनरत बालिकाहरुको आमाहरुको ८ ओटा समुह गठन गरी आयआर्जन सम्वन्धि तालिम समेत सञ्चालनमा ल्याएको संघकी सचिव तुल्सी बुढाप्रितीले बताइन ।

तानसेनको सिर्जनशिल, नमुना, भगवती, देउपुजे, लुम्विनी रम्भाको रम्भादेवी, मिलिजुली तिनाउ गाउँपालिकाको ज्यामिरे महिला समुहलाई बेमौसमी तरकारी उत्पादन, सरब तथा अगरबत्ती उत्पादन, गुडिया बनाउन तथा सिलाई कटाई तथा ढाका कपडाको तयारी पोशाक उत्पादन सम्वन्धि तालिम सञ्चालन गरिएको हो । ५ देखि ७ दिनसम्म सञ्चालित तालिम पछि सीमान्तकृत समुदायका बालिकाको आमाहरुको आम्दानीकोे स्रोत बढेको छ । तालिमपछि छात्राहरुको आमाको नियमित मासिक ५ देखि २५ हजारसम्म आम्दानी भएको छ ।

तानसेन नगरपालिका ६ की पार्वती परियारकी छोरी जनप्रिय माविमा अध्ययन गर्ने विद्यार्थी हुन । पहिला १४ स्थान रहेकी छोरी कक्षा ९ बाट १० मा ४ औं स्थानमा उर्तीण हुँदा परिबारमा खुसीयाली छाएको हो । संगम परियार अहिले कक्षा १० मा अध्ययन गर्दै आएका छन् । शैक्षिक साम्रागी पाएपछि अध्ययनप्रति विशेष रुचि बढाएको अभिभावक परियारको भनाई छ ।

“छोरीलाई शैक्षिक साम्रागी सहयोग गर्ने संस्थाले मलाई पनि सिलाईकटाई तालिम प्रदान गरयो, त्यही सिपबाट अहिले परिवारको लागि खर्च र छोरीको शिक्षाको निम्ति खर्च जुटाउन सहज भएको छ,” परियारको भनाई छ ।

गरीवीका कारण शैक्षिक साम्रागी समेत जुटाउन समस्या भएका परिवारका लागि सहयोग र आम्दानी गर्ने बाटो देखाएकोमा महिलाहरु खुसी छन् । महिला स्वास्थ्य तथा शिक्षा सम्वन्धि गोष्ठी, राहत तथा स्वास्थ्य साम्रागी वितरण गर्र्दैै आएको संस्थाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer