
तानसेन । निरन्तरको वर्षासंगै ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा खण्ड खुलाउने प्रयास जारी रहेको छ ।
सडक डिभिजन पाल्पा र प्रहरीको समन्वयमा पहिरो हटाएर सडक खुलाउने तयारी भएको हो ।
वर्षासंगै पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको अन्य स्थानमा पहिरो हटाएर एकतर्फी सडक संचालनमा आएको भएपनि अहिलेसम्म तानसेन नगरपालिका ८ तल्लो डुम्रेमा सडक खुलाउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
नयाँधारसंगको कुराकानीमा त्वातीले भने -‘रातको समयमा समेत हामी पहिरो पन्छाउने प्रयासमा छौं । सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोली पहिरो गएको स्थानमा रहेका छौं ।’
पानी नपरेमा रातिसम्म भएपनि सडक सुचारुको प्रयास जारी रहने त्वातीले बताए । बिहान पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्गको राम्दीदेखि चिडियाखोलासम्मको अन्य स्थानमा भने अहिले एकतर्फी रुपमा सडक संचालनमा आएको छ ।
पुनः पानी परेमा भने पहिरो खस्ने जोखिम कायमै रहेको हुँदा सर्तकता अपनाउन सर्वसाधारणलाई स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
उता आर्यभञ्याङ्ग रामपुर सडकखण्ड तथा जिल्लाका अधिकांश ग्रामीण सडक भने अहिले पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।