काठमाडाैं । नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ । खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो । दोस्रो हाफको ६० मिनेटमा सुनिल क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गरे । तर, रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले चुकाएनन्, उनले गोल गर्दै भारतलाई बराबरीमा फर्काए ।

दशरथ रंगशालामा ५१ सयको हाराहारीमा दर्शकहरू उपस्थित भएको खेलमा दुवै टोलीले उत्कृष्ट खेल देखाएका थिए ।

नेपाल र भारतबीच अब अर्को खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ ।

नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा पछिल्लो मैत्रीपूर्ण खेल हुँदा नेपाल २-० ले पराजित भएको थियो । दशरथ रंगशालामा भने सन् २०१५ पछि यी दुई टोली पहिलो पटक खेलेका हुन् ।

तपाईको प्रतिक्रिया