पाल्पा । आश्विन सङ्क्रान्तिका दिन मनाइने कालिगडले विश्वकर्माको पूजा आराधना गरी आज विश्वकर्मा दिवस मनाइएको छ ।
विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर तथा फलाम र धातुबाट बनेका सामग्रीको विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाइएको हो ।
कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइउने प्छरचलन रहेकाे छ ।
देशभर विश्वकर्माको मूर्ति तथा बालुवा वा अन्य चीजबाट बनाइएको मूर्तिमा आज पूजा गरी भोलि नदीमा लगी मूर्ति सेलाइन्छ।
पाल्पामा पनि आज रिब्दीकोट गाउँपालिका- ४ सिलाङ्गथोकमा रहेको विश्वकर्मा बाबाको मन्दिर तथा अन्य स्थानमा रहेका मन्दिरहरूमा पनि विधिवत रुपमा विश्वकर्माकाे पुजा आरधना गरिएको छ ।
अहिले जिल्लामा कोरोना संक्रमणमा केही कमी आएको हुँदा गतवर्ष भन्दा उल्लेख्य रुपमा मन्दिरमा भक्तजनको उपस्थिती रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । तर मन्दिरमा दर्शन गर्न तथा सवारी पुज्न आउने सबैलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्र पुजा गर्ने व्यवस्था गरेको पनि समितिले जनाएको छ ।
आजको दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजार तथा सवारीलाई पूजा गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।
यही सम्झनामा नेपालका कालिगडले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास रहेको छ ।
सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिदै आएको हो ।