प्रसिद्ध भैरव मन्दिरमा सर्वसाधारणलाई खुल्ला

पाल्पा । कोरोना संक्रमणको जोखिम न्यूनीकरण भएसँगै पाल्पाको रिब्दीकोट गाउँपालिका–५, भैरवस्थानमा रहेको जिल्लाको प्रसिद्ध भैरव मन्दिर सर्वसाधारणलाई खुल्ला गरिएको छ । मन्दिर व्यवस्थापन समितिले मन्दिरमा पूजा गर्न आउने भक्तजनले स्वास्थ्य मापदण्ड पालना गरी भैरवको दर्शन गर्न पाउने व्यवस्था गरिएको हो ।

कोरोनाले ऐतिहासिक मठमन्दिरहरु पाँच महिनादेखि सर्वसाधारणका निम्ति बन्द गरिएको थियो । मन्दिर परिसरमा मुखमा मास्क र हातमा सेनिटाइजर प्रयोग गरी भक्तजनले मन्दिरमा पूजा गर्ने व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले बताए । भक्तजनहरुसँगै मन्दिरमा रहेका पुजारी तथा कर्मचारीहरुले समेत स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भनिएको छ ।

मन्दिर व्यवस्थापन समितिले सर्वसाधारणका निम्ति मन्दिरमा पूजा गर्न खुल्ला गरिएपनि भक्तजनको चाप बढेको छैन । साउन देखि असोज महिनासम्म भैरव मन्दिरमा निकै भीडभाड हुँदै आएपनि कोरोना संक्रमणले सर्वसाधारण पूजा गर्न खोलिएपनि सुनसान जस्तै देखिएको छ ।

मन्दिर व्यवस्थापन समितिका सचिव नवराज ज्ञवालीका अनुसार कोरोना संक्रमण न्यून भएपनि सर्वसाधारणमा त्राँस नहटेकोले भक्तजनहरुको आगमनमा अझै न्यून रहेको हो । शनिबार देखि खोलिएको मन्दिरमा अब विस्तारै भक्तजनको चाप बढ्ने सचिव ज्ञवालीको दावी छ ।

कोरोना संक्रमणले जिल्लामा गरिएको निशेधाज्ञाले मन्दिरको नियमित आम्दानी समेत गुमाएका थिए । जसका कारण जिल्लाका ठूला मठमन्दिरहरुमा पुजा खर्च तथा पुजारीको पारिश्रमिक जुटाउन सास्ती भएको हो । कोरोनाको जोखिमले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल नहुँदा मन्दिरका नियमित पुजा खर्च, पुजारी र मन्दिरका कर्मचारीको निम्ति पारिश्रमिक जुटाउन समस्या देखिएको हो ।

मन्दिरमा पूजाका साम्रागी तथा रोट पकाई जीवीकोपार्जन गर्ने व्यवसायीहरु समेत प्रभावित भएका थिए । निशेधाज्ञाको अवधि देखि अहिले सम्म पाल्पाका अमरनारायण, भगवती, भैरव, ऋषिकेश, सिद्धबाबा लगायतका मन्दिर धार्मिक पर्यटक तथा भक्तजनहरुको चहलपहल हुन नसक्दा मन्दिरमा आर्थिक समस्या बढेको थियो ।

तपाईको प्रतिक्रिया