
तानसेन । पाल्पामा अवैध रुपमा चन्दा सङ्कलन गर्ने पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बेलुका जिल्ला सदरमुकाम तानसेनमा अवैद्य चन्दा सङ्कलन गरेको सूचनाका आधारमा तानसेन–६, बसपार्कको करुवा होटलबाट प्रहरीले पाँच जना पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखा जिल्ला पालुङ्टार नगरपालिका वडा नं.–७, का ३६ वर्षीय दिपक भन्ने प्रदिप गुरुङ्, मोरङ् जिल्ला उर्लाबारी नगरपालिका ९, बस्ने ३३ वर्षीय धनबहादुर विश्वकर्मा, मोरङको पथरी–९, का ४३ वर्षीय राजेश खरेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
यस्तै झापाको कनकाई नगरपालिका–४,का ३८ वर्षीय केदार विक, झापाकै कनकाई नगरपालिका ३, का ४६ वर्षीय सूर्यबहादुर विक पक्राउ परेको सूचना अधिकारी त्वातीले बताए ।
उनीहरूको साथबाट मृगौला पीडित सहयोग लेखेको सहयोग रसिद र सामाजिक सहयोग नेपाल अभियानको नामबाट गरी ५० थान बढी सहयोग रसिदसहित अबैध रुपमा सङ्कलन गरेको २१ हजार २ सय ५५ रुपियाँ पनि बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय लकडाउन खुलेसंगै ग्रामीण क्षेत्रमा समेत विभिन्न बाहनामा मानिसहरुको आवागमन बढेको हुँदा सचेत हुन तथा हल्लाको पछि नलाग्न पनि प्रहरीले जिल्लाबासीमा सुचित गरेको छ ।